सांसद ज्वाला सङ्ग्रौलाको अभिव्यक्तिलाई लिएर हङ्गामा 

काठमाडौं, २ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ज्वाला सङ्ग्रौलाको अभिव्यक्तिलाई लिएर प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा भनाभन सहित हङ्गामा भएको छ।

आजको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सङ्ग्रौलाले विगतमा ३५ वर्ष शासन गर्नेहरूकै कारण गत भदौमा जेनजी आन्दोलन भएको टिप्पणी गर्दै
आन्दोलनमा ज्यान गुमाएकाहरूको रगत अझै नसुकिसकेको अवस्थामा विपक्षी सांसदहरूले सरकारमाथि आरोप लगाइरहेको उनले बताइन्। ‘अस्ति भर्खर एक जना विद्वान् माननीयले तपाईँहरूले सक्नुभएन, अब हामी चलाउँछौँ भनेर भन्नुभयो,’ सङ्ग्रौलाले विपक्षी सांसदलाई प्रश्न गर्दै भनिन्, ‘भदौको आन्दोलनबाट मारिएका परिवार सेतो कपडा लगाएर बरखी बारेर बसिरहेका छन्। कुन हिम्मतले हामी शासन चलाउँछौँ भनेर भनिरहनुभएको छ ? ’

सङ्ग्रौलाको अभिव्यक्तिपछि विपक्षी बेन्चका सांसदहरू उठेर विरोध जनाएका थिए। सङ्ग्रौलाको आरोपमा नेकपा (एमाले) की सांसद साजिदा सिद्दीकीले प्रतिवाद गर्दै वर्तमान सरकारले नै मुलुकमा गुण्डाराज चलाएको आरोप लगाइन्। प्रतिपक्षले सरकारलाई प्रश्न गर्दा सत्तापक्षले गुण्डाराज भनेको भन्दै उनले आपत्ति जनाएकी छन्। देश र जनताको पक्षमा उभिँदा गोली खानुपरे पनि प्रतिपक्ष पछि नपर्ने बताउँदै सिद्दीकीले जेनजी आन्दोलनको कुरा गर्नेले सिरहामा सरकारले चलाएको गोलीबारे पनि जवाफ दिनुपर्ने माग गरिन्।

सिद्दीकीको भनाइपछि सङ्ग्रौलाले पुनः प्रतिवाद गर्दै उनको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेकी छन्। दुवै पक्षका सांसदबिच भनाभन र आरोप प्रत्यारोप भएपछि बैठकमा चर्को होहल्ला भएको थियो। यसले संसदमा हंगमा भएको थियो । संसद गरिमामय स्थान भएकाले यसको गरिमामा बस्नुपर्ने हुन्छ । जथाभावी बोल्न पाईदैन ।

 

प्रतिक्रिया दिनुहोस्