काँग्रेस निर्वाचन अधिकृतहरूको प्रशिक्षण कार्यक्रम आज हुँदै

काठमाडौं, २ भदौ । नेपाली कांग्रेस असोज १६ गतेदेखि हुने १५ औँ महाधिवेशनका लागि निर्वाचन अधिकृतहरूको प्रशिक्षण कार्यक्रम आज हुँदैछ ।
नेपाली काँग्रेसमा महाधिवेशनको तयारीमा तीव्र रूपमा लागेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयानुसार असोज १६ देखि १९ गतेसम्म हुन गइरहेको १५ औँ केन्द्रीय महाधिवेशन अन्तर्गत विभिन्न जिल्लाहरूमा निर्वाचन सम्पन्न गर्न तोकिएका निर्वाचन अधिकृतहरूको प्रशिक्षण कार्यक्रम आज हुन लागेको हो ।

दिउँसो २ बजे कांग्रेस सभापति गगनकुमार थापाको उपस्थितिमा कांग्रेस केन्द्रीय कार्यालय, बीपीनगर, सानेपामा उक्त प्रशिक्षण राखिएकाले सरोकारवाला सबैलाई उपस्थितिको लागि निर्वाचन संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले आग्रह गरेका छन् ।

यसअघि कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा उठेका प्रश्नको जवाफ दिँदै सभापति थापाले महाधिवेशनको तयारी अब तीव्र गतिले हुने बताएका थिए ।

थापाले पार्टीको अधिवेशन प्रक्रिया आजैदेखि प्रारम्भ हुने जानकारी दिएका हुन् । थापाले पार्टीको विधानले तोकेको समयसीमाभित्रै अधिवेशन सम्पन्न गर्नुपर्ने बाध्यता रहेको उल्लेख गरे । उनले सबै पक्षलाई समेटेर अगाडि बढ्ने प्रयास भइरहेको बताउँदै आगामी असोज महिनाभित्रै अधिवेशन सम्पन्न गरिने प्रष्ट पारे ।

अधिवेशन पश्चात पार्टीले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुका साथै प्रदेश र स्थानीय सरकारका कामहरूमा प्रभावकारी रूपमा केन्द्रित हुने उनले बताए । सोही अवसरमा सभापति थापाले आगामी भदौ २४ गतेदेखि कांग्रेसले ‘राष्ट्रिय अभियान’ शुरू गर्ने घोषणासमेत गरे ।

सभापति थापाले सोमबार भनेका थिए,‘ भोलिबाट हाम्रो अधिवेशनको प्रक्रिया प्रारम्भ हुँदैछ । यसबीचका केही दिनमा पनि सबैलाई जोड्ने प्रयास गर्नेछु । यसका लागि सबैको साथ र सहयोग आवश्यक छ । हामी सकेसम्म सबैलाई समेटेर अघि बढ्नेछौँ । तर पार्टीको संविधान र विधानले तोकेको समयसीमाभित्र अधिवेशन सम्पन्न गर्नुपर्ने भएकाले समयको सीमालाई पनि ध्यान दिनुपर्छ । अधिवेशनको प्रक्रियामा सबै साथीहरू सक्रिय रूपमा जोडिनुहोस् । असोजमा अधिवेशन सम्पन्न गरौँ। कोही हारौँला, कोही जितौँला त्यसपछि पनि हामी पार्टीको जिम्मेवारीअनुसार प्रतिपक्षको भूमिका प्रभावकारी रूपमा निर्वाह गर्दै प्रदेश र स्थानीय सरकारका कामलाई निरन्तरता दिनेछौँ । भदौ २४ गतेदेखि शुरु हुने राष्ट्रिय अभियानलाई पनि एकतावद्ध भएर अगाडि बढाऔँ ।’

लोकतान्त्रिक प्रक्रियामा हार र जितलाई स्वाभाविक रूपमा लिनुपर्नेमा जोड दिँदै उनले पार्टीको वृहत्तर हितका लागि सबै नेता तथा कार्यकर्ताको साथ र सहयोग रहने विश्वास व्यक्त गरे ।

उनले संस्थापन इतरका नेताहरूलाई महाधिवेशनमा आफूलाई हराएर देखाउनसमेत चुनौती दिएका छन् ।

उनको नेतृत्व र अनुहारका कारण पार्टीले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा अपेक्षित मत प्राप्त गर्न नसकेको भनी भएको आलोचनाको जवाफ दिँदै असन्तुष्ट पक्षलाई विशेष महाधिवेशनमार्फत नेतृत्वको विकल्प खोज्न चुनौती दिएका हुन् ।

सभापति थापाले गगन थापाको अनुहार देखाएकै कारण कांग्रेसले मत नपाएको हो भन्ने निष्कर्ष हो भने अर्को उम्मेदवार खडा गरेर आफूलाई नेतृत्वबाट हटाउनसमेत चुनौती दिए ।

थापाले लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व परिवर्तन गरी पार्टीको बागडोर सम्हाल्न असन्तुष्ट पक्षलाई आह्वान गरे । उनले पार्टीको अधिवेशनलाई समावेशी, न्यायपूर्ण र निष्पक्ष बनाउनका लागि आफू जुनसुकै शर्त र प्रक्रियामा छलफल गर्न तयार रहेको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्