नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा कुनै समस्या छैनः राष्ट्र बैंक

 

काठमाडौं, साउन २८ । नेपाल राष्ट्र बैंकले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा कुनै समस्या नरहेको स्पष्ट पार्दै सूचना प्रकाशित गरेको छ ।

नियमकीइ बैंक राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै बैंकका वित्तीय परिसूचकहरू केन्द्रीय बैंकले तोकेको मापदण्ड भन्दा सबल रहेकाले कुनै पनि जटिलता आउने अवस्था नभएको प्रस्ट पारेको हो ।

केन्द्रीय बैंकले बिहीबार सूचना जारी गर्दै बैंक सञ्चालकहरू र प्रमुख कार्यकारी अधिकृतविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर भएको विषयमा जानकार रहेको जनाउँदै यसको पनि नजिकबाट निगरानी तथा अुनगमन गरिरहेको जनाएको छ ।

बैंक सञ्चालन र व्यवस्थापन सम्बन्धमा नजिकबाट अनुगमन गरिरहेको केन्द्रीय बैंकले जनाएको छ । साथै, विद्यमान कानुनी व्यवस्थाका सन्दर्भमा आवश्यक राय–सुझाव लिई छलफल भइरहेको केन्द्रीय बैंकले स्पष्ट पारेको छ ।

राष्ट्र बैंकले निकालेको सूचनामा हाल बैंकको तरलताको अवस्था पनि सबल रहेको उल्लेख छ । ‘वित्तीय सबलताका परिसूचकहरू यस बैंकले तोकेको मापदण्ड बमोजिम सन्तोषजनक रहेको हुँदा बैंकको दैनिक कार्यसञ्चालनमा कुनै पनि प्रकारको जटिलता उत्पन्न हुने अवस्था देखिएको छैन,’ केन्द्रीय बैंकको सूचनामा छ ।

हाल सम्मानित जिल्ला अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा बैंक सञ्चालनको दैनिक अवस्था सहित मुद्दाको प्रकृति, समयावधि र गाम्भीर्यका आधारमा यस बैंकबाट थप छलफल र कानुनी रायसमेत लिई कानुन बमोजिम सञ्चालक समिति र उच्च व्यवस्थापन एवं बैंक सञ्चालनका सम्बन्धमा आवश्यक उपाय अवलम्बन गरिने बेहोरा जानकारी गराइन्छ ।’ सूचनमा उल्लेख छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गत वैशाख २९ मा बैंकका प्रमुख कार्यकारी अधिकृतलाई पक्राउ गरेदेखि केन्द्रीय बैंक मौन थियो ।

त्यसपछि बैंक अध्यक्ष तथा सञ्चालकहरूलाई पक्राउ पुर्जी जारी हुँदासमेत मौन केन्द्रीय बैंकले भने मुद्दा दायर भएपछि बैंकमा समस्या नभएको र दैनिक सञ्चालनमा कुनै पनि जटिलता नभएको स्पष्ट पारेको हो ।

बैंकले भने केन्द्रीय बैंकको निर्देशन अनुसार नै कर्जा असुलीका लागि स्मार्ट सेलको धितोमा राखेको सम्पत्ति बिक्री गरेको स्पष्ट पार्दै आएको छ ।

सरकारले भने स्मार्ट सेल सरकारी भएका कारण बैंकले बिक्री गर्न नपाउने दाबी गर्दै मुद्दा दायर गरेको हो । यसले बैंक र सरकारबीच टकराव सृजना भएको छ ।

प्रतिक्रिया दिनुहोस्