सम्झौता कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई मधेश केन्द्रित दलको आग्रह

काठमाडौं, १५ साउन।  मधेश केन्द्रित राजनीतिक दलका नेताहरूले यसपटक भएका सम्झौताहरू कार्यान्वयन गर्न प्रधानमन्त्री बालेन शाहलाई आग्रह गरेका छन्।

शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटका क्रममा मधेशमा पछिल्लो समय देखिएका घटनाक्रमबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले जानकारी दिए।

भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै महतोले विगतका सरकारहरूले जस्तै सम्झौता गरेर कार्यान्वयन नगर्ने अवस्था नआओस् भन्दै प्रधानमन्त्रीलाई सचेत गराएको बताए।

“सम्झौता भयो, त्यसलाई रद्दीको टोकरीमा नफालिदिनुहोला। विगतका सरकारले जस्तो नगर्नुहोला भनेका छौं,” महतोले भने।

उनले मधेशमा फैलिएको तनाव रोक्न राज्य गम्भीर र संवेदनशील भएर अघि बढ्नुपर्ने बताए। राज्यले प्रभावकारी प्रतिक्रिया नदिए समस्या थप जटिल बन्न सक्ने उनको भनाइ थियो।

“मधेशमा फैलिएको आगो रोक्नुपर्छ। राज्यले प्रतिक्रिया नदिएपछि त्यो रोकिँदैन। हामी सबै सहयोग गर्न तयार छौं। सबै पक्षको सहयोग लिएर त्यो दंगा रोक्न पहल गर्नुपर्छ भनेका छौं,” महतोले भने।

महतोले प्रधानमन्त्रीले ढिलो भए पनि देशका नाममा सम्बोधन गरेको भन्दै धन्यवाद व्यक्त गरे। तर समयमै सम्बोधन भएको भए पछिल्लो अवस्था सिर्जना नहुन सक्ने धारणा उनले राखे।

मधेशमा देखिएको तनाव समाधानका लागि राजनीतिक संवाद र सहकार्य आवश्यक रहेको भन्दै नेताहरूले सरकारलाई थप प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्