सभापति गगन थापाद्वारा कोशी–मधेसका जनप्रतिनिधिसँग छलफल, सद्भाव बिगार्ने गतिविधिमा संलग्नलाई कारबाहीको चेतावनी
काठमाडौं, १५ साउन। नेपाली कांग्रेसका सभापति गगन थापाले कोशी प्रदेश, मधेस प्रदेश सरकार तथा ती प्रदेशका स्थानीय तहका जनप्रतिनिधिहरूसँग भर्चुअल बैठक गरेका छन्।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा शुक्रबार आयोजित छलफलमा काठमाडौंमा रहेका पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य तथा संसदीय दलका नेता भीष्मराज आङ्देम्बे पनि सहभागी थिए।
बैठकमा पछिल्लो समय सुनसरीलगायत विभिन्न जिल्लामा विकसित घटनाक्रम, सामाजिक सद्भाव कायम राख्ने उपाय तथा स्थानीय तहमा समन्वयलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको जनाइएको छ।
नेपाली कांग्रेसले सामाजिक सद्भाव कायम राख्न सबै पक्षसँग निरन्तर संयम र जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्न आग्रह गर्दै आएको छ।
छलफलका क्रममा सभापति थापाले सामाजिक सद्भाव भड्काउने वा साम्प्रदायिक तनाव बढाउने गतिविधिमा पार्टीका कुनै सदस्य संलग्न भएको पाइए कडा कारबाही गरिने चेतावनी दिए। उनले आवश्यक परे त्यस्ता व्यक्तिलाई पार्टी सदस्यताबाट समेत निष्कासन गरिने स्पष्ट पारे।
कांग्रेसले सामाजिक एकता, शान्ति र सहिष्णुता कायम राख्न सबै नेता–कार्यकर्ता तथा जनप्रतिनिधिलाई जिम्मेवार भूमिका खेल्न निर्देशन दिएको जनाएको छ।












प्रतिक्रिया दिनुहोस्