आज बस्दै राष्ट्रिय सभाको बैठक, गृहमन्त्री र शिक्षामन्त्रीले दिनेछन् सांसदका प्रश्नको जवाफ
काठमाडौं, १५ साउन। राष्ट्रिय सभाको बैठक आज (शुक्रबार) दिउँसो १:१५ बजे बस्ने भएको छ। बैठकमा गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालयसँग सम्बन्धित सांसदहरूले उठाएका मौखिक प्रश्नको उत्तर दिने कार्यसूची रहेको छ।
त्यस्तै, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पनि आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफ दिने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ।
बैठकमा राष्ट्रियसभा सदस्य कमला पन्तले ‘मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी सम्बन्धमा’ गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्नेछिन्।
यस्तै, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले संविधानसभा सदस्य, प्रतिनिधिसभाका पूर्वसदस्य तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
यसैबीच, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि आज अपराह्न २ बजे बस्दैछ। बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि छलफल हुने कार्यसूची छ।
उक्त छलफलका लागि विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई समितिको बैठकमा आमन्त्रण गरिएको छ।












प्रतिक्रिया दिनुहोस्