मधेसको सुरक्षा अवस्थाप्रति रास्वपा सांसद मनिष झाको चिन्ता, सरकारको सक्रियता अपर्याप्त रहेको टिप्पणी

काठमाडौं, १४ साउन । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले तराई–मधेस तथा पूर्वका केही जिल्लामा विकसित पछिल्लो घटनाक्रमप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले सुरक्षा संवेदनशीलता र सामाजिक सद्भाव कायम राख्न राज्यको सक्रियता पर्याप्त नभएको बताएका छन्।

बिहीबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद झाले मधेस प्रदेशका करिब २० जना सांसदले पार्टी सभापति रवि लामिछानेसँग त्यस क्षेत्रको सुरक्षा अवस्थाबारे विशेष छलफल गरेको जानकारी दिए।

धनुषामा ओमप्रकाशको मृत्यु र त्यसपछिको घटनाक्रमप्रति संकेत गर्दै उनले राज्यको तदारुकता अपेक्षाअनुसार नदेखिएको टिप्पणी गरे। पीडित परिवारले हालसम्म शव बुझ्न नसकेको, सान्त्वना र उचित क्षतिपूर्तिको व्यवस्था हुन नसकेको उल्लेख गर्दै उनले गृह प्रशासनको ध्यानाकर्षण गराए।

सांसद झाले मधेसको विद्यमान सुरक्षा अवस्थालाई संघीय सरकारले आवश्यक गम्भीरताका साथ नहेरेको निष्कर्ष आफूहरूको रहेको बताए। जनकपुरजस्ता प्रमुख सहरमा बजार बन्द हुनु, चोक–चोकमा विरोध प्रदर्शन हुनु र जनजीवन प्रभावित हुनु चिन्ताजनक अवस्था भएको उनको भनाइ थियो।

उनले नेपाली समाजको ऐतिहासिक धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी एकतालाई कमजोर बनाउने कुनै पनि गतिविधिप्रति सबै पक्ष सचेत रहनुपर्नेमा जोड दिए। साथै, शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सरकार प्रभावकारी रूपमा सक्रिय हुनुपर्ने आवश्यकता औँल्याए।

प्रतिक्रिया दिनुहोस्