राष्ट्रिय एकता कायम गर्न सर्वदलीय बैठक बोलाउन प्रधानमन्त्रीलाई पुनको आग्रह
काठमाडौं, १४ साउन । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता वर्षमान पुनले राष्ट्रिय एकता, सामाजिक सद्भाव र शान्ति कायम गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएर आवश्यक नेतृत्व र समन्वय गर्नुपर्ने बताएका छन्।
बिहीबार संघीय संसद् भवन, सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पुनले राष्ट्रिय तथा संवेदनशील विषयमा सत्ता र प्रतिपक्षको विभाजनभन्दा माथि उठेर साझा रूपमा अघि बढ्नुपर्ने आवश्यकता औँल्याए। उनले राष्ट्रिय हितका विषयमा सबै राजनीतिक दलबीच सहकार्य र सहमति अपरिहार्य रहेको बताए।
नेता पुनले नेपालको बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषतालाई सम्मान गर्दै सबै जाति, समुदाय र वर्गबीच आपसी सद्भाव, सहिष्णुता र सामाजिक एकता कायम राख्न सबै पक्षलाई आग्रह गरेका छन्।
देशको वर्तमान भूराजनीतिक अवस्था र बढ्दो सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै सरकार अझ जिम्मेवार, संवेदनशील र गम्भीर बन्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो।
साथै, संसद् अधिवेशन चलिरहेको अवस्थामा प्रधानमन्त्री र गृहमन्त्री स्वयं संसद्मा उपस्थित भएर देशको समग्र सुरक्षा अवस्था, पछिल्ला घटनाक्रम तथा सरकारले चालेका कदमबारे जनप्रतिनिधि र जनतालाई स्पष्ट जानकारी गराउनुपर्ने धारणा पनि उनले व्यक्त गरे।
नेता पुनले राष्ट्रिय एकता र सामाजिक सद्भाव जोगाउन सबै राजनीतिक दल, सरकार तथा सरोकारवाला पक्षबीच प्रभावकारी समन्वय र साझा प्रयास आवश्यक रहेकोमा जोड दिएका छन्।













प्रतिक्रिया दिनुहोस्