प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद् बैठक सम्पन्न

काठमाडौं, १४ साउन । राष्ट्रिय सुरक्षा परिषद्को बैठक सम्पन्न भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बिहीबार मध्याह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा परिषद्को बैठक बसेको हो।

परिषद्का सदस्य सचिव तथा रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्माका अनुसार यो परिषद्को ४३औँ बैठक हो।

बैठकमा राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सुरक्षा अवस्थाबारे विश्लेषण र समीक्षा गरिएको सचिव शर्माले जानकारी दिए। उनका अनुसार बैठकले देशभित्रका पछिल्ला घटनाक्रम, विशेषगरी सुनसरीमा भएको घटनाबारे समेत छलफल गरेको छ।

“बैठकले राष्ट्रिय, अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षा स्थितिको विश्लेषण गर्दै समीक्षा गरेको छ। देशका पछिल्ला घटनाबारे पनि छलफल र समीक्षा गरिएको छ,” उनले भने।

बैठकले यस्ता घटनाहरू पुनः दोहोरिन नदिन सबै सरोकारवाला निकायलाई सक्रिय र समन्वयात्मक भूमिका निर्वाह गर्न निर्देशन दिने निर्णय गरेको छ।

सचिव शर्माका अनुसार प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गर्दै भविष्यमा हुन सक्ने सुरक्षा चुनौतीलाई रोक्न सरकारका निकायहरूलाई सक्रिय रूपमा काम गर्न निर्देशन दिइएको छ।

त्यसैगरी विपद् प्रतिकार्य व्यवस्थापनलाई प्रभावकारी बनाउने विषयमा पनि बैठकले निर्णय गरेको छ। खोज, उद्धार र राहतका कामलाई समयमै प्रभावकारी रूपमा सञ्चालन गरी नागरिकलाई सेवा सुविधा उपलब्ध गराउने विषयमा समेत छलफल भएको उनले बताए।

बैठकले राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषयमा नियमित समीक्षा गर्दै आवश्यक कदम चाल्ने निर्णय गरेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्