मन्त्रिपरिषद्का चार निर्णय सार्वजनिक, नौ विधेयक संसद्मा पेश गर्न स्वीकृति

काठमाडौं, १३ असार । सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका चारवटा निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बैठकका निर्णय सार्वजनिक गरेका हुन्।

बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित नौवटा विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिएको छ। स्वीकृति पाएका विधेयकमा संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवा, सर्त तथा सुविधा सम्बन्धी ऐन संशोधन, खानी तथा खनिज पदार्थ सम्बन्धी कानुन संशोधन तथा एकीकरण, संक्रामक पशु रोग नियन्त्रण, राहदानी ऐन संशोधन, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण (पहिलो संशोधन), बालश्रम निषेध तथा नियमन, आन्तरिक वायु सेवा दायित्व, मेलमिलाप सम्बन्धी ऐन संशोधन तथा कर्मचारी सञ्चय कोष ऐन संशोधन सम्बन्धी विधेयक रहेका छन्।

त्यस्तै, मन्त्रिपरिषद्ले शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा उनले तोकेको अधिकृतलाई विदेशी विनिमय सम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने निर्णय पनि गरेको छ।

बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा सिन्धुलीका ऐडराज दाहाललाई मनोनयन गर्ने निर्णय गरेको छ।

यस्तै, शिक्षा तथा खेलकुद मन्त्रालयको प्रस्तावअनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (छैटौं संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।

प्रतिक्रिया दिनुहोस्