सुनसरी घटनाबारे ९ दलको संयुक्त अपिल: शान्तिपूर्ण संवादबाट समाधान खोज्न आग्रह

काठमाडौं, १३ असार ।  सुनसरी घटनाबारे छलफल गर्न बसेको सर्वदलीय बैठकले संयुक्त अपिल जारी गर्दै सबै पक्षलाई शान्तिपूर्ण रूपमा आफ्ना माग र असन्तुष्टि राख्न आग्रह गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीका नेताहरूले संयुक्त अपिलमा हस्ताक्षर गरेका छन्।

बैठकले समाजमा शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न केन्द्रको प्रयास मात्र पर्याप्त नहुने भन्दै प्रदेश, जिल्ला र स्थानीय तहमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गर्न आह्वान गरेको छ।

अपिलमा भनिएको छ, “संवादलाई तल्लो तहसम्म पुर्‍याउन र नागरिकस्तरमा विश्वासको वातावरण निर्माण गर्न हामी आ–आफ्ना पार्टीका विभिन्न तहका समितिहरूलाई निर्देशित गर्दछौं।”

दलहरूले स्थानीय धार्मिक अगुवा, नागरिक समाज र प्रशासनलाई समेत समेटेर शान्ति कायम गर्ने अभियानमा सक्रिय हुन आग्रह गरेका छन्। साथै सरकारले अधिकतम संयमता अपनाउँदै समस्या समाधानतर्फ अग्रसर हुनुपर्नेमा जोड दिएका छन्।

गगन थापा : सरकार लाठी र स्टाटसमा मात्र सीमित हुन नहुने

नेपाली कांग्रेसका सभापति गगन थापाले सर्वदलीय बैठक आयोजना गरेकोमा रास्वपा सभापति रवि लामिछानेलाई धन्यवाद दिए।

उनले सरकारको भूमिकामाथि प्रश्न उठाउँदै सरकार केवल लाठी र स्टाटसमा सीमित हुन नहुने बताए।

“सरकार भनेको अभिभावक मात्र होइन, लिडर पनि हो। उसले अरूलाई विश्वास गर्न सक्नुपर्छ अनि अरूले पनि सरकारलाई विश्वास गर्छन्,” थापाले भने।

उनले सुनसरी घटनाको विषयमा संसदमा आवाज उठाउने र घटनाको छानबिन आवश्यक रहेको बताए। राज्यको असफलताका कारण यस्ता घटना दोहोरिने गरेको उनको भनाइ थियो।

प्रचण्ड : सरकार थप जिम्मेवार र संवेदनशील बन्नुपर्छ

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरी घटनाका सन्दर्भमा सरकार थप जिम्मेवार, सक्रिय र संवेदनशील बन्नुपर्ने बताए।

उनले प्रधानमन्त्रीले तत्काल सबै राजनीतिक दललाई विश्वासमा लिएर सर्वदलीय संवाद र सहमतिको पहल गर्नुपर्ने बताए।

“बल प्रयोग कुनै पनि समस्याको दीर्घकालीन समाधान हुन सक्दैन। संवाद, सहमति र राजनीतिक समझदारीबाट मात्रै परिस्थितिलाई सहज बनाउन सकिन्छ,” प्रचण्डले भने।

उनले घटनास्थलमा स्थानीय व्यक्तिसँगै बाहिरी रूपमा वातावरण भड्काउने तत्वसमेत सक्रिय हुन सक्ने भन्दै सबै पक्षलाई सतर्क रहन आग्रह गरे।

शंकर पोखरेल : शान्ति सुरक्षाका लागि प्रधानमन्त्रीले नेतृत्व लिनुपर्छ

नेकपा (एमाले) महासचिव शंकर पोखरेलले मुलुकको शान्ति सुरक्षा अवस्था सुदृढ बनाउन र सुरक्षा निकायको क्षमता अभिवृद्धि गर्न सरकारको ध्यानाकर्षण गराए।

उनले सरकार र प्रधानमन्त्रीको तर्फबाट हुनुपर्ने पहलकदमीमा कमी देखिएको टिप्पणी गर्दै रास्वपा सभापति रवि लामिछानेको पहलमा भएको छलफलबाट शान्ति, सद्भाव र सहिष्णुताका लागि संयुक्त विज्ञप्ति जारी गरिएको बताए।

पोखरेलले सुरक्षा निकायको क्षमता, स्रोतसाधन र भीड व्यवस्थापन प्रणालीबारे सूक्ष्म अध्ययन आवश्यक रहेको बताए।

राजेन्द्र लिङ्देन : अनुसन्धान आयोग गठन गर्न माग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले सुनसरीको कप्तानगन्ज घटनाको गहिरो अनुसन्धानका लागि आयोग गठन गर्न माग गरेका छन्।

उनले घटनाको जरासम्म पुगेर दीर्घकालीन समाधान खोज्नुपर्ने बताए।

“तुरुन्तै आयोग बनाऔं, संवाद गरौं। यो हतारको र अति संवेदनशील विषय हो,” लिङ्देनले भने।

उनले घटनामा मृत्यु भएका परिवारलाई राहत, क्षतिपूर्ति र न्याय सुनिश्चित गर्न तथा घाइतेहरूको प्रभावकारी उपचार गर्न सरकारसँग माग गरे।

बैठकमा सहभागी नेताहरूले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र शान्ति कायम राख्न सबै पक्षले संयमता अपनाउनुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया दिनुहोस्