प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीको प्रतिबद्धता: चौमासिक प्रगति विवरण सार्वजनिक गर्ने
काठमाडौं, १३ असार । प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचन आयोगको कार्यसम्पादन प्रगति विवरण चौमासिक रूपमा सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका छन्।
संसदीय सुनुवाइ समितिमा जारी सुनुवाइका क्रममा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै कार्कीले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्। उनले हालसम्म अभ्यासमा नरहेको चौमासिक प्रगति विवरण सार्वजनिक गर्ने व्यवस्था आफूले कार्यान्वयन गर्ने बताएका छन्।
कार्कीले ‘संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८३’ को दफा २९ अनुसार प्रस्तुत कार्ययोजनाबमोजिमको कार्यसम्पादन मूल्यांकनको प्रगति विवरण निर्वाचन आयोगको वेबसाइटमार्फत चौमासिक रूपमा सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।
सुनुवाइ समितिको कार्यविधि २०८३ को दफा २९ मा संसदीय सुनुवाइपछि नियुक्त हुने पदाधिकारीले समितिमा प्रस्तुत गरेको नतिजामा आधारित कार्ययोजना सम्बन्धित निकायमा अभिलेख राखी चौमासिक रूपमा कार्यसम्पादन मूल्यांकन प्रगति विवरण तयार गरी विद्युतीय माध्यमबाट सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ।
कार्कीले सोही व्यवस्थाअनुसार आफ्नो कार्यसम्पादनलाई पारदर्शी बनाउने उद्देश्यले नियमित रूपमा प्रगति विवरण सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका हुन्।













प्रतिक्रिया दिनुहोस्