निर्वाचन आयोगलाई प्रविधिमैत्री र विश्वसनीय बनाउनुपर्नेमा सांसद वर्षमान पुनको जोड

काठमाडौं, १२ साउन । नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले निर्वाचन आयोगलाई आधुनिक, प्रविधिमैत्री र विश्वसनीय संस्थाका रूपमा विकास गर्नुपर्ने बताएका छन्।

मंगलबार संसदीय सुनुवाइ समितिमा प्रस्तावित निर्वाचन आयुक्त डा. राजीव सुब्बाको संसदीय सुनुवाइका क्रममा बोल्दै सांसद पुनले आयोगले प्रविधिको प्रयोग विस्तारसँगै त्यसबाट उत्पन्न हुने चुनौतीको प्रभावकारी व्यवस्थापन गर्नुपर्नेमा जोड दिए।

उनले प्रस्तावित आयुक्त सुब्बाको २५ वर्षको कार्यअनुभव, सूचना प्रविधि क्षेत्रको विज्ञता तथा संयुक्त राष्ट्रसंघीय मिसनमा गरेको कार्यसम्पादनको प्रशंसा गर्दै प्रस्तुत अवधारणापत्र र कार्ययोजनालाई प्रभावकारी रहेको बताए।

सांसद पुनले निर्वाचनमा कृत्रिम बुद्धिमत्ता, डिपफेक तथा एल्गोरिदमको बढ्दो प्रयोगले भ्रामक सूचना फैलाउने र उम्मेदवारविरुद्ध चरित्रहत्या गर्ने जोखिम बढेको उल्लेख गरे। आगामी निर्वाचनमा यस्ता प्रविधिजन्य चुनौती आयोगका लागि प्रमुख विषय हुने उनको भनाइ थियो।

उनले विदेशमा रहेका नेपाली नागरिकलाई पनि निर्वाचन प्रक्रियामा सहभागी गराउने व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याए। पछिल्लो निर्वाचनमा मतदान प्रतिशत अपेक्षाभन्दा कम रहेको उल्लेख गर्दै प्रविधिको प्रयोगमार्फत निर्वाचन क्षेत्रबाहिर तथा विदेशमा रहेका नेपालीलाई मतदानको अवसर उपलब्ध गराउन आयोगले पहल गर्नुपर्ने सुझाव दिए।

सांसद पुनले विद्युतीय मतदान प्रणालीको प्रयोगबाट मतगणना र परिणाम छिटो सार्वजनिक गर्न सकिने भए पनि यसको सुरक्षा, विश्वसनीयता र सम्भावित ह्याकिङको जोखिमलाई गम्भीर रूपमा सम्बोधन गर्नुपर्ने बताए।

उनका अनुसार विगत एक दशकदेखि विद्युतीय मतदान प्रणालीबारे चर्चा हुँदै आए पनि यसको विश्वसनीयतामाथि अझै प्रश्न उठिरहेकाले आयोगले जनविश्वास कायम गर्ने गरी आवश्यक तयारी गर्नुपर्ने आवश्यकता रहेको छ।

प्रतिक्रिया दिनुहोस्