गोपालमान श्रेष्ठको निधनपछि कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक आह्वान
काठमाडौं, १२ साउन । नेपाली कांग्रेसले वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनपछि केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ।
पार्टीका अनुसार शोक प्रस्ताव पारित गर्न साउन १३ गते बिहान ८ः३० बजे पार्टी केन्द्रीय कार्यालय, सानेपामा केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्नेछ। बैठकमा काठमाडौं उपत्यकामा उपलब्ध केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई उपस्थित हुन आग्रह गरिएको छ।
वरिष्ठ नेता श्रेष्ठको सोमबार ललितपुरस्थित जावलाखेलको हेलियस अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।
कांग्रेसले उनको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पणका लागि साउन १३ गते बिहान ९ बजेदेखि ११ बजेसम्म पार्टी केन्द्रीय कार्यालय, सानेपामा राख्ने कार्यक्रम तय गरेको छ। त्यसपछि पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने पार्टीले जनाएको छ।
कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिअनुसार पार्टीले नेता श्रेष्ठको योगदानको सम्मानस्वरूप श्रद्धाञ्जली कार्यक्रमसहित शोक सभाको आयोजना गर्नेछ।













प्रतिक्रिया दिनुहोस्