बिमस्टेक महासचिव पाण्डे र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ता, क्षेत्रीय सहकार्य विस्तारमा जोड
काठमाडौं, १२ साउन । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) का महासचिव इन्द्रमणि पाण्डेले परराष्ट्रमन्त्री शिशिर खनाल र परराष्ट्र सचिव अमृतबहादुर राईसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।
मंगलबार परराष्ट्र मन्त्रालयमा भएको भेटका क्रममा बिमस्टेक सदस्य राष्ट्रबीचको सहकार्य, क्षेत्रीय शान्ति, समृद्धि तथा दिगो विकासका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
भेटका क्रममा महासचिव पाण्डेले बिमस्टेकले पछिल्लो समय अघि बढाएका गतिविधि, उपलब्धि तथा संगठनलाई थप प्रभावकारी बनाउने दिशामा भइरहेका प्रयासबारे जानकारी गराएका थिए।
परराष्ट्रमन्त्री खनालले बिमस्टेक सदस्य राष्ट्रहरूको आर्थिक रूपान्तरणलाई गति दिन तथा साझा क्षेत्रीय चुनौतीहरूको सामना गर्न आपसी सहकार्य आवश्यक रहेको धारणा राखेका थिए। उनले बिमस्टेकलाई अझ प्रभावकारी, परिणाममुखी र जनमुखी क्षेत्रीय संगठनका रूपमा विकास गर्दै अघि बढ्नुपर्नेमा जोड दिए।
मन्त्री खनालले बंगालको खाडी क्षेत्रलाई थप सुदृढ, समृद्ध र परस्पर आबद्ध क्षेत्रका रूपमा विकास गर्न नेपालले बिमस्टेकका साझा उद्देश्य प्रवर्द्धनमा निरन्तर सहयोग र समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरे।
भेटमा महासचिव पाण्डेले बिमस्टेकलाई कार्यमुखी र प्रभावकारी क्षेत्रीय संगठनका रूपमा सुदृढ बनाउने क्रममा भएका प्रगति तथा आगामी प्राथमिकताबारे जानकारी गराएका थिए। उनले बिमस्टेक चार्टर, बिमस्टेक भिजन दस्ताबेजको कार्यान्वयन, संस्थागत सुधार तथा क्षेत्रीय सहकार्य विस्तारका पहलहरूबारे पनि छलफल गरेका थिए।
उनले बिमस्टेकका गतिविधिमा नेपालको सक्रिय सहभागिता र योगदानको प्रशंसा गर्दै संगठनका साझा लक्ष्य हासिल गर्न आगामी दिनमा पनि नेपालको निरन्तर सहयोग रहने विश्वास व्यक्त गरे।
नेपाल सन् २००४ देखि बिमस्टेकको सदस्य राष्ट्र रहँदै आएको छ। दक्षिण एसिया र दक्षिण–पूर्वी एसियाबीच प्राविधिक तथा आर्थिक सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको बिमस्टेकमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्ड सदस्य राष्ट्र रहेका छन्।













प्रतिक्रिया दिनुहोस्