भारतीय महाराष्ट्रका मुख्यमन्त्रीसँग कांग्रेस नेताको भेट, द्विपक्षीय सहकार्यका विषयमा छलफल

काठमाडौं, ११ साउन । नेपाली कांग्रेसका नेताहरूले भारतको महाराष्ट्र राज्यका मुख्यमन्त्री देवेन्द्र फडणवीससँग भेटवार्ता गरेका छन्। भेटमा नेपाल–भारत सम्बन्ध, आपसी सहकार्य र साझा हितका विषयमा छलफल भएको जनाइएको छ।

प्रतिनिधि सभा सदस्य सन्दीप राना, नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन मगर तथा लुम्बिनी प्रदेश सभा सदस्य निमा गिरीले सोमबार मुख्यमन्त्री फडणवीससँग भेट गरेका हुन्।

भेटपछि मुख्यमन्त्री फडणवीसले सामाजिक सञ्जालमार्फत तस्बिर सार्वजनिक गर्दै नेपाली प्रतिनिधिमण्डललाई स्वागत गर्न पाउँदा खुसी लागेको बताएका छन्।

उनले नेपाल र भारतबीच साझा इतिहास, संस्कृति तथा पारस्परिक विश्वासमा आधारित गहिरो मित्रता रहेको उल्लेख गर्दै द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने र दुवै देशको साझा प्रगति तथा समृद्धिका लागि सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्