बीपी–पुष्पलालको वैचारिक संश्लेषण आवश्यक रहेको प्रलोपाको धारणा
काठमाडौ, ६ साउन । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ र जननिर्वाचित प्रथम प्रधानमन्त्री बीपी कोइरालाको वैचारिक विरासतलाई समकालीन आवश्यकतासँग जोडेर नयाँ राजनीतिक बहस अघि बढाउनुपर्ने आवश्यकता औंल्याएको छ।
पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख रजमान तामाङले बुधबार जारी गरेको विज्ञप्तिमा बीपी र पुष्पलाल फरक राजनीतिक धाराका प्रतिनिधि भए पनि नेपालको लोकतान्त्रिक रूपान्तरण, जनअधिकारको विस्तार र राष्ट्रिय हितको संरक्षणमा दुवैको योगदान समान रूपमा प्रेरणादायी रहेको उल्लेख गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “बीपीको लोकतान्त्रिक समाजवाद र पुष्पलालको वाम–समाजवादी दृष्टिकोणलाई समकालीन यथार्थसँग जोडेर नयाँ राजनीतिक बहस अघि बढाउनु समयको आवश्यकता हो। विचारलाई केवल स्मरण गर्ने होइन, व्यवहारमा रूपान्तरण गर्ने दायित्व आजको पुस्तामाथि छ।”
प्रलोपाले बीपीले राजनीतिक स्वतन्त्रता, नागरिक अधिकार र प्रजातान्त्रिक समाजवादको अवधारणा अघि सारेको तथा पुष्पलालले वर्गीय शोषणविरुद्ध संघर्ष, राष्ट्रिय स्वाधीनता र वाम–समाजवादी रूपान्तरणको वैचारिक आधार निर्माण गरेको उल्लेख गरेको छ।
पार्टीले लोकतन्त्र र समाजवादलाई परस्पर विरोधी नभई एकअर्काका पूरक मूल्यका रूपमा व्याख्या गर्दै राजनीतिक स्वतन्त्रतासँगै आर्थिक न्याय, सामाजिक समानता, सहभागितामूलक लोकतन्त्र, विधिको शासन, पारदर्शिता र उत्पादनमा आधारित अर्थतन्त्रलाई नेपालको समृद्धिको आधार मानेको छ।
विज्ञप्तिमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि लोकतन्त्रको गुणस्तर, सुशासन, उत्पादनमुखी अर्थतन्त्र, युवाको भविष्य, सामाजिक न्याय र राष्ट्रिय आत्मनिर्भरताका क्षेत्रमा अझै गम्भीर चुनौती रहेको उल्लेख गरिएको छ। यस्ता चुनौती समाधानका लागि बीपी र पुष्पलालका विचारलाई वर्तमान सन्दर्भसँग जोडेर नयाँ वैचारिक संश्लेषण आवश्यक रहेको पार्टीको धारणा छ।
प्रलोपाले स्मृति दिवसलाई औपचारिक श्रद्धाञ्जलिमा सीमित नराखी आत्मसमीक्षा, इतिहासबाट शिक्षा लिने र राष्ट्र निर्माणप्रतिको नयाँ संकल्प गर्ने अवसरका रूपमा लिनुपर्ने जनाएको छ। साथै, राजनीतिक दलहरूबीच स्वस्थ वैचारिक प्रतिस्पर्धा, राष्ट्रिय हितमा सहकार्य र जनताप्रति उत्तरदायी राजनीतिक संस्कृतिको विकास आजको आवश्यकता रहेको पनि विज्ञप्तिमा उल्लेख छ।
पार्टीले लोकतन्त्रवादी, वामपन्थी, समाजवादी, प्रगतिशील तथा देशभक्त नेपालीलाई बीपी कोइराला र पुष्पलाल श्रेष्ठका आदर्श, त्याग, नैतिकता र दूरदर्शी चिन्तनबाट प्रेरणा लिएर समृद्ध, न्यायपूर्ण, आत्मनिर्भर र लोकतान्त्रिक नेपालको निर्माणमा एकजुट हुन आह्वान गरेको छ।













प्रतिक्रिया दिनुहोस्