जलवायु जनचेतनाका लागि कांग्रेसको ‘ग्रिन रन’, गगन थापासहित नेता–कार्यकर्ता सहभागी

काठमाडौ, ६ साउन । नेपाली कांग्रेसले जलवायु परिवर्तनप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौं उपत्यकामा ‘ग्रिन रन’ आयोजना गरेको छ। बुधबार बिहान सम्पन्न पाँच किलोमिटर दौडमा कांग्रेसका सभापति गगनकुमार थापासहित नेता–कार्यकर्ताको सहभागिता रहेको थियो।

जननायक बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा आयोजित विभिन्न कार्यक्रमअन्तर्गत कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जलवायु जनचेतना जगाउन जुटौं’ भन्ने नारासहित ग्रिन रन आयोजना गरेको हो।

प्रतिष्ठानका प्रमुख तथा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले जलवायु परिवर्तनका चुनौतीबारे नागरिकमा सचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए।

दौडपछि जावलाखेलस्थित फाल्चामा ‘जलवायु परिवर्तनको चुनौती : निराकरण कसरी’ विषयमा विज्ञसहितको समूहगत छलफल आयोजना गरिनेछ। सोही अवसरमा जलवायु परिवर्तनका चुनौती र सम्भावनालाई चित्रमार्फत प्रस्तुत गर्ने उद्देश्यले चर्चित चित्रकारद्वारा प्रत्यक्ष चित्रकला (पेन्टिङ) कार्यक्रम पनि सञ्चालन हुनेछ।

कांग्रेसले साउन ७ गते ‘नवीन परिस्थिति : नवीन संकल्प, नवीन अभियान’ शीर्षकमा राष्ट्रिय सभागृहमा विचार गोष्ठी तथा नवीन अभियान घोषणा कार्यक्रम आयोजना गर्ने जनाएको छ।

यस्तै, ‘ग्रिन रन’मा सहभागीको संख्याका आधारमा प्रतिव्यक्ति निश्चित रकम पार्टीको कोषबाट जम्मा गरी ‘मानवीय सहयोग कोष’ स्थापना गरिने पनि कांग्रेसले जनाएको छ। उक्त कोषबाट पछिल्लो समय विस्थापित भएका सुकुम्बासी परिवारका वृद्धवृद्धा र बालबालिकाको हितमा सहयोग गरिने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्