हर्क साम्पाङको प्रश्न : संगीत, खेलकुद र चलचित्र उद्योग हुन् कि होइनन् ? बजेट कति छुट्याइयो ?
काठमाडौं, ४ साउन । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग संगीत, खेलकुद र चलचित्र क्षेत्रलाई उद्योगको रूपमा मान्यता दिने विषयमा संसद्मार्फत प्रश्न उठाएका छन्।
प्रतिनिधिसभा नियमावलीअनुसार मौखिक उत्तरका लागि उनले संसद् सचिवालयमा प्रश्न दर्ता गर्दै ‘उद्योग भन्नाले के–केलाई बुझिन्छ ?’ भन्दै संगीत, खेलकुद र चलचित्रलाई उद्योग भन्न मिल्ने वा नमिल्नेबारे सरकारको धारणा मागेका छन्।
साम्पाङले ती क्षेत्रलाई उद्योगको रूपमा स्वीकार गरिन्छ भने आर्थिक वर्ष २०८३/८४ का लागि कति बजेट छुट्याइएको छ भन्ने विवरण पनि माग गरेका छन्।
प्रतिनिधिसभा नियमावलीअनुसार सांसदहरूले नेपाल सरकारको कार्यक्षेत्र र उत्तरदायित्वभित्र पर्ने सार्वजनिक महत्वका विषयमा सम्बन्धित मन्त्रीसँग मौखिक वा लिखित प्रश्न सोध्न सक्ने व्यवस्था छ। प्रश्न दर्ता भएपछि सम्बन्धित मन्त्रालयले जवाफ पठाउने र त्यसका आधारमा संसद् सचिवालयले मौखिक तथा लिखित उत्तरका लागि छुट्टाछुट्टै प्रश्नसूची तयार गर्ने व्यवस्था रहेको छ।
नियमावलीअनुसार एक दिनमा बढीमा २० वटा मौखिक र ५० वटा लिखित प्रश्न मात्र कार्यसूचीमा समावेश गरिन्छ। समय अभावका कारण मौखिक प्रश्नको उत्तर दिन नभ्याइएमा सम्बन्धित मन्त्रीले उत्तर संसद्मा टेबुल गर्नुपर्ने व्यवस्था छ। सार्वजनिक हितका लागि आवश्यक ठहरिएमा भने सभामुखको अनुमति लिएर प्रश्नोत्तरको निर्धारित समयपछि पनि मन्त्रीले उत्तर दिन सक्ने प्रावधान रहेको छ।
अब उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले साम्पाङको प्रश्नको जवाफ दिएपछि संगीत, खेलकुद र चलचित्र क्षेत्रलाई उद्योगका रूपमा सरकारले कसरी हेरेको छ भन्ने विषयमा औपचारिक धारणा सार्वजनिक हुने अपेक्षा गरिएको छ।













प्रतिक्रिया दिनुहोस्