राष्ट्र बैंकमा दुई डेपुटी गभर्नर नै पर्याप्त : सांसद कँडेल

काठमाडौं, ३ असार । नेकपा (एमाले) का सांसद प्रा.डा. पुष्पराज कँडेलले नेपाल राष्ट्र बैंकमा दुई जना डेपुटी गभर्नर नै पर्याप्त रहेको बताएका छन्। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा उनले राष्ट्र बैंकलाई थप डेपुटी गभर्नर आवश्यक नरहेको धारणा राखेका हुन्।

बैठकमा बैंकर्सहरूले डेपुटी गभर्नरको संख्या दुईबाट बढाएर तीन पुर्‍याउनुपर्ने प्रस्ताव राखेका थिए। त्यसप्रति प्रश्न उठाउँदै सांसद कँडेलले निजी क्षेत्रलाई थप डेपुटी गभर्नर किन आवश्यक परेको हो भन्ने स्पष्ट आधार माग गरे।

उनले हालका दुई डेपुटी गभर्नर नै पर्याप्त रहेको उल्लेख गर्दै बाह्य क्षेत्रको प्रतिनिधित्व आवश्यक भएमा एक जना राष्ट्र बैंकभित्रबाट र अर्का एक जना बाहिरबाट नियुक्त गर्ने व्यवस्था गर्न सकिने बताए।

“राष्ट्र बैंकबाट एक जना र बाहिरबाट एक जना गर्दा पनि हुन्छ। दुई जना डेपुटी गभर्नर पर्याप्त नै हुन्छन्,” उनले भने।

सांसद कँडेलले राष्ट्र बैंकको सञ्चालक समितिमा महिला प्रतिनिधित्व नभएको विषयमा पनि प्रश्न उठाए। सरकारले सार्वजनिक निकायका बोर्डमा कम्तीमा एक जना महिला अनिवार्य गर्ने नीति लिएको अवस्थामा राष्ट्र बैंकको बोर्डमा महिला सदस्य नरहनु र संशोधन विधेयकमा पनि त्यससम्बन्धी व्यवस्था नहुनु दुःखद भएको उनको भनाइ थियो।

उनले भने, “राष्ट्र बैंकले सबै बैंकका बोर्डमा कम्तीमा एक जना महिला हुनुपर्ने व्यवस्था गरेको छ। तर राष्ट्र बैंककै बोर्डमा महिला प्रतिनिधित्व छैन र विधेयकमा पनि त्यसको व्यवस्था गरिएको छैन।”

त्यस्तै, सांसद कँडेलले सहकारी क्षेत्रको नियमनका लागि छुट्टै प्राधिकरण गठन गर्ने प्रक्रिया अघि बढिसकेको भन्दै सहकारीलाई राष्ट्र बैंकको कार्यक्षेत्रबाट अलग राख्नुपर्ने धारणा राखे।

उनका अनुसार विगतमा सहकारी नियमनको जिम्मेवारी लिन राष्ट्र बैंकले आफ्नो क्षमता पर्याप्त नभएको बताउँदै आएको थियो। सहकारी संकटपछि छुट्टै नियामक निकाय बनाउने प्रक्रिया अघि बढिरहेको अवस्थामा फेरि सहकारी नियमनको जिम्मेवारी राष्ट्र बैंकलाई दिनु उपयुक्त नहुने उनले बताए।

“सहकारीको छुट्टै प्राधिकरण बनाउने काम अघि बढिरहेको छ। त्यसलाई सबल बनाउने र राष्ट्र बैंकको कार्यक्षेत्रबाट सहकारीलाई बाहिर राख्ने विषयमा सोच्नुपर्छ,” उनले भने।

प्रतिक्रिया दिनुहोस्