नेतन्याहुलाई पक्राउ गर्ने विषयमा न्यूयोर्कका मेयर ममदानीले थाले कानुनी परामर्श
काठमाडौं, ३ असार । न्यूयोर्कका मेयर जोहरन ममदानीले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्यूयोर्क आउन लागेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई पक्राउ गर्ने वा नगर्ने विषयमा कानुनी परामर्श गरिरहेको बताएका छन् ।
न्यूयोर्क टाइम्सको पोडकास्ट ‘द इन्टरभ्यु’ मा बोल्दै ममदानीले नेतन्याहुलाई हिरासतमा लिन न्यूयोर्क प्रहरीलाई निर्देशन दिन मिल्छ कि मिल्दैन भन्ने विषयमा आफ्ना कानुनी सल्लाहकारहरूसँग छलफल भइरहेको जानकारी दिए ।
उनले आफूले कानुनको सीमाभित्र रहेर मात्र निर्णय गर्ने स्पष्ट पारे । “यो हाम्रो कानुनी विभागसँग चलिरहेको सक्रिय छलफलको विषय हो,” उनले भने, “हामी कानुनभन्दा बाहिर गएर काम गर्ने पक्षमा छैनौँ ।”
ममदानीले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) को मुख्यालय रहेको नेदरल्यान्ड्सको द हेगलाई संकेत गर्दै नेतन्याहु त्यहाँ हुनुपर्ने धारणा पनि व्यक्त गरे ।
आईसीसीले गाजामा भएको युद्धसँग सम्बन्धित युद्ध अपराध र मानवताविरुद्धका अपराधको आरोपमा सन् २०२४ मा नेतन्याहुविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणमा करिब १ हजार २ सय मानिस मारिएका थिए भने २५१ जनालाई बन्धक बनाइएको थियो । त्यसपछि इजरायलले गाजामा सुरु गरेको सैन्य कारबाहीमा ठूलो मानवीय क्षति भएको छ ।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार युद्धविराम हुनुअघिसम्म इजरायली सैन्य कारबाहीमा ७३ हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको थियो । मन्त्रालयले मृतकमा सर्वसाधारण र लडाकुको छुट्टाछुट्टै विवरण नदिए पनि अधिकांश महिला र बालबालिका रहेको जनाएको छ ।
अमेरिकी सरकारहरूले भने आईसीसीले नेतन्याहुविरुद्ध जारी गरेको पक्राउ पुर्जीको आलोचना गर्दै आएका छन् ।
संयुक्त राष्ट्रसंघका लागि इजरायली राजदूत ड्यानी ड्याननले ममदानीको भनाइको प्रतिक्रिया दिँदै त्यसले कुनै प्रभाव नपार्ने बताएका छन् । उनले नेतन्याहु निर्धारित कार्यक्रमअनुसार न्यूयोर्क आउने र संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने दाबी गरेका छन् ।
गत जनवरीमा मेयर बनेका ममदानीले चुनावी अभियानका क्रममा निर्वाचित भए नेतन्याहुलाई पक्राउ गर्ने प्रतिबद्धता जनाएका थिए । हाल उनले सोही विषयमा कानुनी सम्भावनाको अध्ययन गरिरहेको बताएका छन् ।













प्रतिक्रिया दिनुहोस्