प्रचण्डको श्रीलंका भ्रमण सम्पन्न, वामपन्थी सहकार्य र क्षेत्रीय मुद्दामा छलफल
काठमाडौं, ३ असार । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलंकाको पाँच दिने राजनीतिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन् ।
बुधबार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई पार्टीका नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए । प्रचण्ड जुलाई १५ मा श्रीलंका पुगेका थिए ।
भ्रमणका क्रममा प्रचण्डले इन्टरनेशनल पिपुल्स एसेम्बलीद्वारा आयोजित ‘ह्यान्ड्स अफ एसिया’ अन्तर्राष्ट्रिय सम्मेलनमा प्रमुख वक्ताका रूपमा सहभागिता जनाएका थिए । सम्मेलनको उद्घाटन सत्रमा उनले विश्वव्यापी शक्ति सन्तुलनमा भइरहेको परिवर्तन, साम्राज्यवाद र नवउदारवादका चुनौती, दक्षिण एसियाली जनआन्दोलनका अनुभव तथा २१औँ शताब्दीको समाजवादको राजनीतिक दिशाबारे आफ्नो धारणा प्रस्तुत गरेका थिए ।
समापन सत्रमा उनले एसियाली जनताबीच एकता, शान्ति, सामाजिक न्याय र साझा संघर्षलाई बलियो बनाउन अन्तर्राष्ट्रिय प्रगतिशील शक्तिहरूबीच सहकार्य आवश्यक रहेको बताए ।
श्रीलंका बसाइँका क्रममा प्रचण्डले त्यहाँका प्रमुख वामपन्थी राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गरेका थिए । उनले श्रीलंकाको कम्युनिस्ट पार्टीका महासचिव तथा पोलिटब्युरो सदस्यहरूसँग दुईपक्षीय छलफल गर्दै नेपाल र श्रीलंकाका कम्युनिस्ट आन्दोलनका अनुभव, लोकतान्त्रिक अभ्यास, आर्थिक रूपान्तरण तथा अन्तर्राष्ट्रिय सहकार्यका विषयमा विचार आदानप्रदान गरेका थिए ।
त्यस्तै, श्रीलंकाको सत्तारुढ जनता विमुक्ति पेरामुना (जेभीपी) का महासचिव तिल्भिन सिल्भा तथा पार्टी पोलिटब्युरोसँग भएको भेटमा दुई देशका वाम आन्दोलन, वर्तमान राजनीतिक अवस्था, दक्षिण एसियाली वामपन्थी सहकार्य, सुशासन, आर्थिक विकास र जनमुखी नीतिका विषयमा छलफल भएको जनाइएको छ ।
उक्त भेटवार्तामा नेपाल र श्रीलंकाका प्रगतिशील शक्तिहरूबीच राजनीतिक सम्बन्ध थप सुदृढ बनाउने विषयमा सहमति भएको प्रचण्डको सचिवालयले जनाएको छ ।
भ्रमणका क्रममा प्रचण्डले विभिन्न देशबाट सहभागी राजनीतिक दलका नेता, सामाजिक अभियन्ता, अनुसन्धानकर्ता तथा प्रगतिशील बौद्धिक व्यक्तित्वहरूसँग समेत भेटघाट गरेका थिए ।
पार्टीका अनुसार श्रीलंका भ्रमणले नेपालको कम्युनिस्ट आन्दोलनका अनुभवलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्नुका साथै दक्षिण एसियाली वामपन्थी शक्तिहरूसँग सम्बन्ध विस्तारमा योगदान पुर्याएको छ ।













प्रतिक्रिया दिनुहोस्