जसपा नेपालको पुरानो कार्यकारिणी समितिको बैठक बस्यो, लोसपासँगको समायोजनबारे छलफल हुँदै
काठमाडौं, ३ असार । जनता समाजवादी पार्टी (जसपा) नेपालको पुरानो कार्यकारिणी समितिको बैठक सुरु भएको छ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालसँग एकता हुनुअघि कायम रहेको जसपा नेपालको कार्यकारिणी समितिको बैठक बसेको हो ।
जसपा नेपालको केन्द्रीय कार्यालयमा जारी बैठकमा लोसपा नेपालसँग भएको एकता, पार्टी समायोजन तथा आगामी सांगठनिक संरचनाबारे छलफल भइरहेको बताइएको छ । गत पुसमा जसपा नेपाल र लोसपा नेपालबीच एकता भएको थियो । उक्त एकतालाई निर्वाचन आयोगले समेत मान्यता दिइसकेको छ । तर, पार्टीको पूर्ण सांगठनिक संरचना भने अझै टुंगो लाग्न सकेको छैन ।
एकतापछि केन्द्रीय समिति गठन, नेताहरूको जिम्मेवारी बाँडफाँट तथा संगठन समायोजनका विषयमा दुई दलबीच छलफल जारी छ । तर, दुवै पार्टीमा पद र जिम्मेवारीका आकांक्षी धेरै भएकाले समायोजन प्रक्रिया सहज हुन नसकेको नेताहरूले बताएका छन् ।
जसपा नेपालका नेता शैलेन्द्र साहका अनुसार समायोजनका विषयमा देखिएका असहमति समाधान गर्न पुरानो कार्यकारिणी समितिको बैठक बोलाइएको हो । बैठकले पार्टीभित्रको धारणा तय गर्ने र त्यसपछि लोसपा नेपालसँग थप छलफल गरिने उनले बताए ।
दुवै दलले आ–आफ्नो पार्टीभित्र सहमति जुटाएर संयुक्त बैठकमार्फत समायोजनको विषय टुंग्याउने सहमति गरेका छन् । जसपा नेपालको बैठकपछि लोसपा नेपालको पुरानो कार्यकारिणी समितिको बैठकसमेत बस्ने तयारी रहेको जनाइएको छ ।













प्रतिक्रिया दिनुहोस्