गगन थापा भन्छन्– कृष्णप्रसाद भट्टराईको ‘सन्तनेता’ उपाधि कहिल्यै नमेटिने

काठमाडौं, ३ असार । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई नेपाली जनताले दिएको ‘सन्तनेता’ को उपाधि कहिल्यै ननाशिने बताएका छन्।

नेपाली कांग्रेस ललितपुर जिल्ला कार्यसमितिले नखिपोटमा आयोजना गरेको सन्तनेता कृष्णप्रसाद भट्टराईको सालिक अनावरण कार्यक्रममा बोल्दै सभापति थापाले भट्टराईले लोकतन्त्र र स्वतन्त्रताका लागि पुर्‍याएको योगदानको सम्मानस्वरूप जनताले उनलाई ‘सन्तनेता’ को उपाधि दिएको बताए।

उनले भट्टराईको राजनीतिक जीवन, त्याग र निष्ठा नेपाली राजनीतिका लागि प्रेरणादायी रहेको उल्लेख गर्दै उनको योगदानलाई इतिहासले सधैं सम्झिरहने बताए।

कार्यक्रममा सभापति थापाले नेपाली कांग्रेसको पार्टी अधिवेशनमा ३० वर्षभन्दा कम उमेरका युवाको प्रतिनिधित्व सुनिश्चित गर्ने नीतिगत व्यवस्था गरिएको जानकारी दिए। उनले युवालाई नेतृत्वमा ल्याउने उद्देश्यसहित पार्टीले संरचनागत सुधारका कदम अघि बढाएको बताए।

त्यस्तै, थापाले प्रदेशमा तीन ठूला दल मिलेर सरकार गठन गर्नु उपयुक्त नभएको धारणा व्यक्त गरे। उनले राजनीतिक स्थायित्व र जनताको अपेक्षा पूरा गर्न स्पष्ट नीति र सहकार्य आवश्यक रहेको बताए।

सन्तनेता कृष्णप्रसाद भट्टराई नेपाली कांग्रेसका संस्थापक नेतामध्ये एक तथा नेपालको लोकतान्त्रिक आन्दोलनका महत्वपूर्ण व्यक्तित्वका रूपमा चिनिन्छन्।

प्रतिक्रिया दिनुहोस्