बिपी स्मृति दिवसमा कांग्रेसले ‘ग्रीन रन’सहित विभिन्न कार्यक्रम गर्ने
काठमाडौं, ३ असार । नेपाली कांग्रेसले ४४औँ बिपी स्मृति दिवसको अवसरमा ‘ग्रीन रन’सहित विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ।
कांग्रेस उपसभापति विश्वप्रकाश शर्माका अनुसार पार्टीले साउन ६ गते ५ किलोमिटर ‘ग्रीन रन’ र ‘जलवायु परिवर्तनको चुनौती, निराकरण कसरी गर्ने?’ विषयक प्यानल डिस्कसन आयोजना गर्न लागेको हो।
कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा तथा ललितपुर कांग्रेसको स्थानीय व्यवस्थापनमा कार्यक्रम हुन लागेको हो।
जलवायु परिवर्तनबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित आयोजना गरिएको ‘ग्रीन रन’ साउन ६ गते बिहान ६ बजे ललितपुरस्थित युएन पार्क नजिकबाट सुरु हुनेछ। दौड जावलाखेल पुगेर समापन हुने जनाइएको छ।
यस्तै, सोही दिन बिहान ७ बजे जावलाखेल चोकमा ‘जलवायु परिवर्तनको चुनौती, निराकरण कसरी गर्ने?’ विषयमा छलफल कार्यक्रम आयोजना गरिनेछ। कार्यक्रममा जलवायु तथा वातावरण क्षेत्रका विज्ञहरूको समेत सहभागिता रहने कांग्रेसले जनाएको छ।
बिपी स्मृति दिवसको अवसरमा साउन ७ गते काठमाडौंस्थित राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम आयोजना गर्ने तयारी पनि कांग्रेसले गरेको छ।
कांग्रेसले हरेक वर्ष संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको स्मृतिमा विभिन्न कार्यक्रम गर्दै आएको छ।













प्रतिक्रिया दिनुहोस्