बाल सुधार गृहलाई थुन्ने ठाउँ होइन, सुधार र पुनःस्थापनाको केन्द्र बनाउनुपर्छ : सांसद लामा
काठमाडौं, ३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद सरस्वती लामाले बाल सुधार गृहलाई केवल बालबालिका राख्ने वा थुन्ने स्थानका रूपमा नभई पारिवारिक वातावरणसहित सुधार र पुनःस्थापनाको केन्द्रका रूपमा विकास गर्नुपर्ने बताएकी छिन्।
सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसद लामाले बाल सुधार गृहमा रहेका बालबालिकाको मानव अधिकार, व्यवस्थापन र आचरण सुधारका विषयमा आफ्नो धारणा राखेकी हुन्।
बाल सुधार गृहमा रहेका बालबालिकाको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिले पेस गरेको प्रतिवेदनमाथिको छलफलमा सहभागी हुँदै उनले सुधार गृहमा बाल मनोविज्ञान बुझ्ने दक्ष जनशक्ति व्यवस्थापन गर्नुपर्ने आवश्यकता औंल्याइन्।
सांसद लामाले सुधार गृहमा खटिने कर्मचारी तथा अभिभावकको भूमिका निर्वाह गर्ने व्यक्तिहरू शारीरिक र मानसिक रूपमा सक्षम हुनुका साथै बालबालिकाको मनोविज्ञान बुझ्ने खालका हुनुपर्ने बताइन्।
सुधार गृहमा उपलब्ध गराइने सुविधाबारे उनले देशको आर्थिक क्षमतासँग मेल खाने र बाहिर रहेका अन्य बालबालिकाले पाउने सुविधासँग सन्तुलन कायम हुने गरी व्यवस्था गर्नुपर्ने धारणा राखिन्।
बालबालिकालाई अनुशासित र नैतिकवान् बनाउन ध्यान (मेडिटेसन), उनीहरूको धार्मिक आस्था अनुसार प्रार्थना तथा सकारात्मक चेतना विकासका कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव पनि उनले दिइन्। आध्यात्मिक चेतनाले बालबालिकालाई आत्मअनुशासन विकास गर्न र भविष्यमा अपराधबाट टाढा रहन सहयोग पुग्ने उनको भनाइ थियो।
सांसद लामाले बाल सुधार गृहमा रहेको ‘नाइके प्रथा’ अन्त्य गर्नुपर्ने माग गरिन्। कैदीबन्दीमध्येबाटै नाइके छनोट गर्ने अभ्यासले बालबालिकामाझ डर र हिंसाको वातावरण सिर्जना गर्न सक्ने भन्दै उनले सुरक्षाकर्मी वा जिम्मेवार कर्मचारीबाटै प्रत्यक्ष निगरानी हुनुपर्ने बताइन्।
१८ वर्ष उमेर पूरा गरेका व्यक्तिहरूलाई उनीहरूको इच्छा विपरीत भए पनि राज्यको नीति अनुसार छुट्टै व्यवस्थापन गर्नुपर्ने उनको भनाइ थियो। उमेर र अपराधको प्रकृति हेरेर फरक–फरक सुधारात्मक व्यवस्था लागू गर्नुपर्ने उनले सुझाव दिइन्।
सामान्य गल्ती गर्ने बालबालिकालाई सम्झाइ–बुझाइ सुधारको अवसर दिनुपर्ने उल्लेख गर्दै सांसद लामाले उनीहरूले गरेको गल्तीले समाज र पीडित पक्षमा परेको असरबारे बुझाउन सके मात्र वास्तविक सुधार सम्भव हुने बताइन्।
उनले बाल सुधार गृहको उद्देश्य केवल नियन्त्रण नभई बालबालिकालाई जिम्मेवार, अनुशासित र समाजमा पुनःस्थापित हुन सक्ने नागरिक बनाउनु हुनुपर्नेमा जोड दिइन्।













प्रतिक्रिया दिनुहोस्