गगन थापाको स्पष्ट सन्देश: प्रदेशमा तीन दलको सरकार बनाउने प्रस्ताव अस्वीकार्य
काठमाडौं, ३ असार । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रदेशहरूमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) मिलेर सरकार बनाउने प्रस्ताव आएको खुलासा गर्दै त्यसलाई कांग्रेसले स्वीकार नगर्ने बताएका छन्।
ललितपुरमा आयोजित ‘नयाँ पुस्तासँग नेपाली कांग्रेसका सभापति’ साक्षात्कार तथा कृष्णप्रसाद भट्टराईको सालिक अनावरण कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार गठन गर्नु नागरिकले दिएको जनादेशविपरीत हुने बताए।
“अहिले एउटा प्रस्ताव आइरहेको छ– तीनवटै पार्टी मिलेर प्रदेशमा सरकार बनाउनुपर्छ। हामीले भन्यौं, यो गलत हुन्छ। यसो गरियो भने नागरिकले दिएको म्यान्डेटभन्दा फरक हुन्छ,” उनले भने।
बागमती प्रदेश सरकारको भविष्यबारे उठेका प्रश्नको जवाफ दिँदै थापाले कांग्रेस सिद्धान्तमा सम्झौता नगर्ने स्पष्ट पारे। उनका अनुसार प्रदेशमा सबै ठूला दल सरकारमा सहभागी हुँदा प्रदेशसभा प्रतिपक्षविहीन बन्ने अवस्था सिर्जना हुन्छ, जुन लोकतान्त्रिक अभ्यासका लागि उचित होइन।
थापाले सत्ता केन्द्रित राजनीतिले विगतमा कांग्रेसलाई क्षति पुर्याएको उल्लेख गर्दै चुनावमा एक दलसँग र सरकारमा अर्को दलसँग सहकार्य गर्ने प्रवृत्तिले राजनीतिक अस्थिरता बढाएको बताए। “सत्ता नै सबै कुरा भन्ने सोचले २०७२ सालदेखि हामीलाई कहाँ पुर्यायो?” भन्दै उनले कांग्रेसले अब प्राथमिकता र सोच परिवर्तन गर्न खोजेको बताए।
यता, कांग्रेसले कर्णाली प्रदेश सरकारबाट आफ्ना मन्त्रीहरू फिर्ता बोलाइसकेको छ भने मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पनि दर्ता गरिसकेको छ। एमालेसँग विगतमा भएको सत्ता सहकार्यलाई निरन्तरता नदिने पक्षमा कांग्रेसका नेताहरू देखिएकाले कर्णालीसहित अन्य प्रदेशमा पनि सरकारको नेतृत्व परिवर्तनबारे राजनीतिक चर्चा तीव्र बनेको छ।













प्रतिक्रिया दिनुहोस्