ओलीको आरोप : सरकार नै कानुन उल्लंघन र अराजकता बढाउने काममा लागेको छ

काठमाडौं, १ साउन ।  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले समाजमा अराजकता फैलाउने र कानुनको बर्खिलाप हुने कामको नेतृत्व गरिरहेको आरोप लगाएका छन्।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारको आलोचना गर्ने नागरिकलाई अध्ययन, रोजगारी र विदेश जाने अवसरबाट वञ्चित गर्ने भन्दै त्रासको वातावरण सिर्जना गरिएको दाबी गरे।

उनले मुलुकमा नागरिक स्वतन्त्रता खुम्चिँदै गएको र राज्यका विभिन्न अंग तथा निकायहरू कार्यकारिणीको नियन्त्रणमा पुगेको टिप्पणी गरे। सरकारको काम कानुनी शासन स्थापना गर्नु भए पनि अहिले त्यसको विपरीत गतिविधि भइरहेको उनको आरोप थियो।

“समाज भाँड्ने, बिथोल्ने, समाजमा अराजकता मच्चाउने, कानुन उल्लंघन गर्ने कामको नेतृत्व सरकारले गरिराखेको छ,” ओलीले भने।

उनले सरकारको विरोध गर्ने युवालाई धम्की दिने काम भइरहेको दाबी गर्दै नागरिकहरू त्रासमा बाँच्नुपर्ने अवस्था सिर्जना भएको बताए। “धम्काएर, तर्साएर मान्छेलाई वशीभूत बनाउने ? मान्छेहरूलाई त्रासमा पारेर आज देश निसास्सिएको अवस्थामा छ,” उनले भने।

अध्यक्ष ओलीले संसद् समेत सरकारको दबाबमा परेको आरोप लगाए। न्यायपूर्ण कानुन निर्माण गर्ने जिम्मेवारी संसद्को भए पनि सरकारको इच्छाअनुसार छोटो समयमा बजेट पारित गर्ने अवस्था आएको उनको भनाइ थियो।

उनले राजनीतिक दल, नागरिक समाज र सञ्चारमाध्यमले सरकारका गतिविधिमाथि प्रभावकारी निगरानी र आलोचना गर्नुपर्ने आवश्यकता औँल्याए। ओलीले नागरिकहरू चुप लागेर बसे देश फासीवादतर्फ उन्मुख हुने चेतावनीसमेत दिए।

‘एमाले आफ्नै बलमा उभिने पार्टी हो’

सोही कार्यक्रममा अध्यक्ष ओलीले एमाले परिस्थितिसँग आत्तिने वा मात्तिने पार्टी नभएको भन्दै पार्टीलाई थप सुदृढ बनाउँदै अघि बढ्ने बताए।

उनले एमाले अर्काको सहारामा टिक्ने नभई आफ्नै शक्तिमा उभिएको पार्टी भएको दाबी गरे। “हामी यस्तो लहरो होइनौँ जसले अर्कालाई नसमातीकन उठ्न सक्दैन । हामी एउटा स्वतन्त्र, दरो र मजबुत वृक्ष हौँ,” उनले भने।

ओलीले पार्टीले विगतमा अनेक चुनौती सामना गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि आफ्नै क्षमताका आधारमा अघि बढ्ने बताए।

उनले पार्टी संगठन र कार्यकर्तालाई पर्याप्त प्रशिक्षण दिन नसक्दा तथा सूचना प्रविधिको क्षेत्रमा अपेक्षित तयारी गर्न नसक्दा केही कमजोरी देखिएको स्वीकार गरे।

अध्यक्ष ओलीले एमालेले गरेका सकारात्मक काम र गतिविधिहरूलाई समाजसम्म पुर्‍याउन पार्टीका नेता तथा कार्यकर्तालाई सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिएका छन्।

प्रतिक्रिया दिनुहोस्