एमाले अझै एक्ल्याउने प्रयास भइरहेको छ : अध्यक्ष ओली
काठमाडौं, १ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई अझै धेरै एक्ल्याउने प्रयास भइरहेको बताएका छन्। उनले एमाले अरू कसैको सहारामा अघि बढ्ने पार्टी नभएको दाबीसमेत गरेका छन्।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टीको वेबसाइट तथा एपको नयाँ संस्करण सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमालेले धक्का पाए पनि समाप्त नभएको बताए। “हामीले धक्का खाएका छौं। धक्का खाएको हो, सिद्धिएको होइन। हामी नवीकृत भएर अघि बढ्नेछौं भन्ने संकेत हो,” ओलीले भने।
उनले एमालेविरुद्ध एक्ल्याउने प्रयास अझै जारी रहेको दाबी गर्दै पार्टीले विगतमा पनि विभिन्न चुनौतीको सामना गर्दै आएको बताए। आँधी, हुरी, तुफान र बाढीलगायतका कठिन परिस्थितिसँग जुध्दै आएको उल्लेख गर्दै ओलीले एमाले कसैको सहारामा मात्र टिक्ने संगठन नभएको बताए।
“हामी यस्तो लहरो होइनौं, जसले अर्कालाई नसमातिकन उठ्नै सक्दैन। हामी एउटा स्वतन्त्र, दह्रो र मजबुत वृक्ष हौं,” उनले भने।
ओलीले एमाले आफ्नै बलमा स्थापित भएको र आगामी दिनमा पनि आफ्नै क्षमताका आधारमा नवीकृत हुँदै अघि बढ्ने बताए। “हामी आफैं यहाँसम्म आएका हौं। आफ्नै खुट्टामा उभिएका हौं। फेरि पनि आफ्नै बुतामा नवीकृत हुँदै चुनौतीको सामना गरेर अघि बढ्छौं,” उनले भने।
एमाले परिस्थितिअनुसार आत्तिने वा उत्साहित हुने पार्टी नभएको पनि ओलीले बताए। अनुकूल अवस्था आएर मात्र उत्साहित हुने र प्रतिकूलता आएर निराश हुने चरित्र एमालेको नभएको उनको भनाइ थियो।













प्रतिक्रिया दिनुहोस्