कोलम्बोमा ‘ह्यान्ड्स अफ एसिया’ सम्मेलन सुरु, प्रचण्डले दिए समाजवाद निर्माणमा जोड
काठमाडौं, १ साउन । इन्टरनेशनल पिपुल्स एसेम्बली (आईपीए) को आयोजनामा तीन दिने ‘ह्यान्ड्स अफ एसिया’ अन्तर्राष्ट्रिय सम्मेलन श्रीलंकाको कोलम्बोमा सुरु भएको छ।
सम्मेलनको उद्घाटन सत्रलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दै नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्षेत्रीय सन्तुलन र समाजवाद निर्माणको आवश्यकतामा जोड दिएका छन्।
एसियाका कम्युनिस्ट आन्दोलनका ऐतिहासिक उपलब्धि र त्यस क्रममा देखिएका चुनौतीबारे चर्चा गर्दै प्रचण्डले बदलिँदो विश्व परिस्थिति र महाशक्तिहरूको दबाबका बीच पनि असंलग्नताको नीति र समाजवादी निर्माणलाई महत्वपूर्ण लक्ष्यका रूपमा अघि बढाउनुपर्ने बताए।
सम्मेलनमा श्रीलंकाका क्याबिनेट वातावरण मन्त्री डा. दम्मिका पाताबेन्दीले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को ऋण कार्यक्रमसँग जोडिएका कठोर सर्त र अनुशासनबीच जनपक्षीय नीति अवलम्बन गर्ने चुनौतीबारे आफ्नो धारणा राखेका थिए।
विश्वप्रसिद्ध मार्क्सवादी लेखक, इतिहासकार तथा ‘ट्राइकोन्टिनेन्टल: इन्स्टिच्युट फर सोसल रिसर्च’ का संयोजक विजय प्रसादले विश्वव्यापी सैन्यीकरण, सार्वभौम ऋण संकट र उग्र दक्षिणपन्थको उदयलाई आपसमा जोड्दै समकालीन विश्व राजनीतिक अवस्थाबारे धारणा प्रस्तुत गरेका थिए।
तीन दिनसम्म चल्ने सम्मेलनमा एसिया तथा विश्वका विभिन्न राजनीतिक विषयमा छलफल हुने आयोजकले जनाएको छ। सम्मेलनका क्रममा पूर्वप्रधानमन्त्री प्रचण्डले एसियाका विभिन्न कम्युनिस्ट तथा वामपन्थी नेताहरूसँग द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
सम्मेलनको साइडलाइनमा प्रचण्डले क्युबा, भेनेजुएला र ब्राजिललगायत ल्याटिन अमेरिकी मुलुकबाट सहभागी भएका वामपन्थी नेताहरूसँग भेटवार्ता गरेका छन्।
सम्मेलनको दोस्रो सत्रमा नेपाली कम्युनिस्ट पार्टीका नेता बलराम बास्कोटाले आईपीएका तर्फबाट ‘वामपन्थी शक्तिहरूबीचको विभाजनमा साम्राज्यवादको भूमिका’ विषयमा प्रस्तुति दिएका थिए।













प्रतिक्रिया दिनुहोस्