आङ्देम्बेले लोकतन्त्रविरोधी प्रवृत्ति र भ्रष्टाचार अन्त्य गर्नुपर्ने बताए
काठमाडौं, १ साउन । प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेपाली राजनीतिबाट अधिनायकवादी सोच, लोकतन्त्रविरोधी प्रवृत्ति, दमन, अन्याय र भ्रष्टाचारलाई सदाका लागि अन्त्य गर्नुपर्ने बताएका छन्।
साउने संक्रान्ति तथा लिम्बू समुदायले मनाउने सिसेःक्पा तङ्नाम पर्वको अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै उनले साउने संक्रान्तिमा लुतो फालेर रोग र अशुभलाई बिदा गर्ने परम्परालाई स्मरण गर्दै देशबाट पनि लोकतन्त्रविरोधी प्रवृत्ति, दमन, अन्याय, भ्रष्टाचार र अधिनायकवादी सोचलाई अन्त्य गर्नुपर्ने आवश्यकता औंल्याए।
आङ्देम्बेले देशमा निरंकुश शासकीय प्रवृत्ति बढ्दै गएको, नागरिक अधिकारमाथि हस्तक्षेप भइरहेको तथा निमुखा र विपन्न नागरिकको आवाज दबाउने प्रवृत्ति बढेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
उनले लोकतन्त्रको केन्द्रमा जनता हुनुपर्ने र जनतालाई शासनको विषय होइन, राज्यशक्तिको केन्द्रका रूपमा स्वीकार गर्नुपर्नेमा जोड दिए।
शुभकामना सन्देशमा उनले संविधान, विधिको शासन, सामाजिक न्याय र समृद्ध नेपालको निर्माणप्रति सामूहिक प्रतिबद्धता जनाउने अवसरका रूपमा साउने संक्रान्ति र सिसेःक्पा तङ्नाम पर्वलाई उपयोग गर्न पनि आग्रह गरेका छन्।













प्रतिक्रिया दिनुहोस्