मन्त्रिपरिषद्का सात निर्णय सार्वजनिक, मिटरब्याज पीडितसँग वार्ता समिति गठनदेखि नयाँ सिक्का टकमरीसम्म

काठमाडौं, ३२ असार ।  सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका सात वटा निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बैठकले गरेका निर्णयबारे जानकारी दिएका हुन्।

मन्त्रिपरिषद्ले अनुचित लेनदेन (मिटरब्याज) बाट प्रभावित नागरिकका माग सम्बोधनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव पुष्कर सापकोटाको संयोजकत्वमा वार्ता समिति गठन गर्ने निर्णय गरेको छ। समितिमा अर्थ मन्त्रालय, गृह मन्त्रालय तथा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सदस्य रहनेछन्।

बैठकले एक रुपैयाँ र दुई रुपैयाँ दरका नयाँ डिजाइनका सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने निर्णय पनि गरेको छ।

यस्तै, नेपाल कानुन सूचना पाइलट प्रणाली स्थापनाका लागि कोरिया सरकारबाट प्राप्त हुने १८ लाख १० हजार अमेरिकी डलर बराबरको वैदेशिक अनुदान सहायता स्वीकार गर्ने निर्णय गरिएको छ।

मन्त्रिपरिषद्ले संरक्षित क्षेत्रभित्रको राष्ट्रिय वन क्षेत्रमा रूख तथा पोल हटाउन स्वीकृति प्राप्त आयोजनाले कानुनी प्रक्रिया पूरा गरेपछि आवश्यक थप रूख तथा पोल हटाउन सम्बन्धित मन्त्रालयले स्वीकृति दिन सक्ने व्यवस्था पनि गरेको छ।

बैठकले विभिन्न मन्त्रालयहरूको संगठन संरचना तथा दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ।

त्यसैगरी, नीति, अनुसन्धान प्रतिष्ठान विकास समिति (गठन) पहिलो संशोधन आदेश, २०८३ स्वीकृत गर्ने निर्णय भएको छ।

सेवा करारमा कार्यरत कर्मचारीको व्यवस्थापनसम्बन्धी व्यवस्था स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्