विष्णु पौडेलसहित सात जनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा पूरक अभियोगपत्र दर्ताको तयारी

काठमाडौं, ३२ असार । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानका आधारमा विशेष सरकारी वकिल कार्यालयले एमाले नेता तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल, व्यवसायी दीपक भट्ट, सुवी अग्रवालसहित सात जनाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पूरक अभियोगपत्र दर्ता गर्ने तयारी गरेको छ।

विशेष सरकारी वकिल कार्यालयका उपन्यायाधिवक्ता भिमसेन काफ्लेका अनुसार विभागबाट प्राप्त अनुसन्धान प्रतिवेदनमाथि रुजु गर्ने काम अन्तिम चरणमा पुगेको छ। उनले बिहीबार विशेष अदालतमा अभियोगपत्र दर्ता गर्ने तयारी भइरहेको जानकारी दिए।

यसअघि दीपक भट्टसहितका प्रतिवादीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता भइसकेकाले यसपटक पूरक अभियोगपत्र दर्ता गर्न लागिएको जनाइएको छ।

अभियोगपत्रमा विष्णु पौडेलमाथि स्रोत नखुलेको सम्पत्ति लुकाउन भूमिका खेलेको आरोप लगाउँदै मतियारका रूपमा सजायको माग गरिएको तयारी रहेको सरकारी पक्षको भनाइ छ।

पूरक अभियोगपत्रमा करिब ३३ करोड रुपैयाँ बराबरको रकम, विभिन्न कित्ताका १५० रोपनीभन्दा बढी जग्गा तथा तीन लाख ७५ हजार कित्ता सेयर कारोबारलाई सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित रहेको दाबी गर्दै विशेष अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरिएको छ।

उक्त आरोपहरूबारे विशेष अदालतमा मुद्दा दर्ता भई न्यायिक प्रक्रिया अघि बढ्न बाँकी रहेको छ।

प्रतिक्रिया दिनुहोस्