कर्णालीमा कांग्रेस मन्त्रीको राजीनामापछि नेकपा संसदीय दलको बैठक

काठमाडौं, ३१ असार । कर्णाली प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएपछि प्रमुख प्रतिपक्षी दल नेकपा संसदीय दलको बैठक बसेको छ।

बुधबार अपराह्नदेखि सुरु भएको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको नेकपा संसदीय दलका नेता मंगलबहादुर शाहले जानकारी दिए।

कर्णाली प्रदेशमा सत्ता गठबन्धन फेरिन सक्ने चर्चा भइरहेका बेला विपक्षी दलको बैठकलाई चासोका साथ हेरिएको छ। पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेकपाले संसदीय दलको बैठक बोलाएको हो।

यसअघि बुधबार नै नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले राजनीतिमा असम्भव भन्ने केही नहुने भन्दै नयाँ गठबन्धन बन्न सक्ने संकेत गरेका थिए।

कर्णाली प्रदेश सरकारमा कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएसँगै प्रदेशको सत्ता समीकरणमा फेरबदलको सम्भावना बढेको छ।

प्रतिक्रिया दिनुहोस्