मिटरब्याज पीडितको समस्या तत्काल समाधान गर्न रास्वपा सांसद अधिकारीको माग

काठमाडौं, ३१ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लीमा अधिकारीले मिटरब्याज पीडितको समस्या तत्काल समाधान गर्न सरकारसँग आग्रह गरेकी छन्।

बुधबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद अधिकारीले न्यायका लागि विपन्न नागरिक पटक–पटक सडकमा आउन बाध्य हुनुपर्ने अवस्था अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराइन्।

उनले गरिब तथा निमुखा नागरिकले न्यायका लागि कति पटक सडकमा आउनुपर्ने र कति समयसम्म संघर्ष गर्नुपर्ने हो भन्दै सरकारसँग प्रश्न गरिन्।

“विपन्न नागरिक न्यायका लागि कति पटक सडकमा आउनुपर्ने हो? कति किलोमिटर पैदल हिँड्नुपर्ने हो? कति रात सडकमा भोकभोकै धर्ना दिनुपर्ने हो?” उनले प्रश्न गरिन्।

सांसद अधिकारीले सरकारले मिटरब्याज पीडितसँग पटक–पटक सहमति गरे पनि कार्यान्वयन हुन नसकेको बताइन्। कानुन निर्माण भए पनि पीडितले अझै न्यायको अनुभूति गर्न नसकेको उनको भनाइ थियो।

उनले असार २५ गते धनुषाबाट करिब ५०० जना मिटरब्याज पीडित ‘न्याय नपाएसम्म घर नफर्किने’ अठोटसहित पुनः पैदल मार्चमा निस्किएको उल्लेख गरिन्। यो सामान्य लेनदेनको विषय नभई राज्यको न्याय प्रणालीमाथिकै गम्भीर प्रश्न भएको उनले बताइन्।

सांसद अधिकारीले पीडितहरू रहेकै स्थानमा पुगेर समस्या समाधान गर्न सरकारसँग माग गरिन्। उनले मिटरब्याज पीडितविरुद्ध दर्ता भएका मुद्दा तत्काल रोक्का गर्न, हडपिएका जग्गाजमिन फिर्ता गराउन तथा समस्या दीर्घकालीन रूपमा अन्त्य हुने गरी प्रभावकारी कानुनी व्यवस्था गर्न आग्रह गरिन्।

गरिब र विपन्न नागरिकको पीडा सम्बोधन गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै उनले न्यायका लागि नागरिकलाई पटक–पटक सडकमा आउनुपर्ने अवस्था अन्त्य गर्न सरकार गम्भीर बन्नुपर्नेमा जोड दिइन्।

प्रतिक्रिया दिनुहोस्