३५ वर्षमा केही भएन भन्ने भाष्य गलत भएको एमाले सचेतक महरको टिप्पणी
काठमाडौं, ३१ असार । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले २०४६ सालपछि देशमा भएका उपलब्धिलाई बेवास्ता गर्दै “३५ वर्षमा केही पनि भएन” भन्ने भाष्य निर्माण गर्न खोजिएको टिप्पणी गरेका छन्।
बुधबार बसेको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै महरले सत्तारुढ दलका केही सांसदहरूले यस्तो धारणा स्थापित गर्न खोजेको आरोप लगाए। उनले लोकतान्त्रिक व्यवस्थापछि भएका परिवर्तनलाई नकारेर निरंकुश शासन व्यवस्था ठीक थियो भन्ने सन्देश दिन खोजिएको हो कि भन्दै प्रश्न गरे।
“म सत्तारुढ दलका सांसदहरूलाई भन्न चाहन्छु– ०४६ सालपछि केही पनि भएन भन्ने भाष्य स्थापना गर्न खोज्नु भएको छ। निरंकुशतन्त्र, तानाशाहीतन्त्र ठीक थियो भन्ने स्थापना गर्न खोज्नु भएको हो?” उनले प्रश्न गरे।
महरले नेपाल कानुनी राज्यको पक्षमा नरहेको सन्देश दिने प्रयास भइरहेको हो कि भन्ने आशंका व्यक्त गरे। उनले लोकतान्त्रिक व्यवस्थाले नागरिक अधिकार, विकास र संस्थागत परिवर्तनका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको दाबी गरे।
प्रतिनिधि सभा बैठकमा उनले विगतका उपलब्धिहरूलाई कमजोर देखाउने प्रयास लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने धारणा राखे।













प्रतिक्रिया दिनुहोस्