मेची राजमार्गको दुरावस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै सचेतक राई
काठमाडौं, ३१ असार । नेपाली कांग्रेसका सचेतक तथा इलामका प्रतिनिधि सभा सदस्य निष्कल राईले इलामको मेची राजमार्गसहित वैकल्पिक सडकखण्डको दयनीय अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।
बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद राईले सडक पूर्वाधारको अभावका कारण इलामवासीले ठूलो समस्या भोग्नुपरेको बताए। उनले सडकको खराब अवस्थाले दैनिक आवतजावतदेखि स्वास्थ्य उपचारसम्म प्रभावित भएको उल्लेख गरे।
हरित नगरीका रूपमा परिचित इलाम अहिले सडकको दुरावस्थाका कारण हिलोमय बनेको टिप्पणी गर्दै राईले मेची राजमार्गको अवस्था निकै जोखिमपूर्ण रहेको बताए। उनले बिरामी तथा सुत्केरी महिलालाई उपचारका लागि झापाका अस्पतालसम्म लैजानसमेत कठिनाइ भएको बताए।
सांसद राईले राजदुवाली–सिमल गोलाई सडकखण्डको अवस्था सुधार गर्नुपर्ने तथा माई जोगमाई खोला र पुवा खोलामा बेलिब्रिज निर्माणको माग पटक–पटक उठाउँदा पनि सरकारले बेवास्ता गरेको आरोप लगाए।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले उक्त क्षेत्रको स्थलगत निरीक्षण गरे पनि सुधारका लागि ठोस पहल नभएको भन्दै उनले असन्तुष्टि जनाए।
गत वर्षको प्राकृतिक विपत्तिपछि इलामलाई संकटग्रस्त जिल्ला घोषणा गरिए पनि सरकारले उपलब्ध गराएको बजेट पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको र चालु वर्षमा समेत इलाम उपेक्षामा परेको राईको भनाइ छ। उनले मनसुनजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै आवश्यक तयारी गर्न सरकारसँग आग्रह गरे।
प्रतिनिधि सभा बैठकमा बोल्दै राईले भने, “हामीले इलामलाई हरित नगरी इलाम भनेर चिनाउँथ्यौँ। तर आज हिलोमय इलाम हुन पुगेको छ। मेची राजमार्गको अवस्था यस्तो दर्दनाक छ कि इलामबाट कुनै नागरिक बिरामी परेमा वा सुत्केरी महिलालाई झापाको अस्पतालसम्म पुर्याउनसमेत कठिन अवस्था छ।”
उनले विकास निर्माणका काममा राजनीतिक पूर्वाग्रह राखिएको हो कि भन्ने प्रश्नसमेत उठाए। “के इलामका नागरिकका लागि पूर्वाधार बन्न सरकार पक्षकै प्रतिनिधि हुनुपर्ने हो? नत्र इलामको आवाज सुनिनुपर्ने थियो, तर सुनिएन,” उनले भने।













प्रतिक्रिया दिनुहोस्