प्रचण्ड श्रीलंका प्रस्थान, एसियाली वामपन्थी सम्मेलनमा सहभागी हुने
काठमाडौं, ३१ असार । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ एसियाली राजनीतिक संवादमा सहभागी हुन बिहीबार श्रीलंका प्रस्थान गरेका छन्।
कम्युनिस्ट, समाजवादी, प्रगतिशील तथा वामपन्थी शक्तिहरूको अन्तर्राष्ट्रिय सञ्जाल इन्टरनेशनल पिपुल्स एसेम्बलीको आयोजनामा श्रीलंकाको राजधानी कोलम्बोमा जुलाई १६ देखि १८ सम्म आयोजना हुने ‘क्षेत्रीय स्थिरता र आर्थिक लचिलोपनसम्बन्धी एसियाली संवाद’ मा सहभागी हुन प्रचण्ड त्यसतर्फ गएका हुन्।
प्रचण्डसँगै नेपाली प्रतिनिधिमण्डलमा पार्टी नेताहरू बलराम बास्कोटा, बलदेव चौधरी, दामा शर्मा, माधव पन्त र गंगा दाहाल सहभागी छन्।
तीन दिनसम्म चल्ने सम्मेलनमा नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, चीन, ताइवान, कोरिया, फिलिपिन्स, थाइल्यान्ड, मलेसिया, इरान, लेबनान, जापान, अस्ट्रेलिया र इन्डोनेसियालगायत एसियाली मुलुकका कम्युनिस्ट, समाजवादी तथा प्रगतिशील राजनीतिक दलका नेताहरू सहभागी हुने आयोजकले जनाएको छ।
सम्मेलनमा जलवायु परिवर्तन, विश्व तथा क्षेत्रीय आर्थिक संकट, सैन्यीकरण, नव–नाजी प्रवृत्तिको विस्तार, एसियाली क्षेत्रमा वैदेशिक हस्तक्षेप, क्षेत्रीय शान्ति तथा स्थायित्व र समाजवाद निर्माणका लागि एसियाली मुलुकहरूबीचको एकता र सहकार्यका विषयमा छलफल हुने कार्यक्रम छ।
भ्रमणका क्रममा प्रचण्डले श्रीलंकाका राष्ट्रपति, प्रधानमन्त्री, जनता विमुक्ति पेरामुनाका महासचिव, कम्युनिस्ट पार्टी अफ श्रीलंकाका महासचिवसहित विभिन्न एसियाली मुलुकका राजनीतिक नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
ती भेटमा क्षेत्रीय राजनीतिक अवस्था, आर्थिक सहकार्य, प्रगतिशील शक्तिहरूबीचको सम्बन्ध विस्तार तथा साझा अन्तर्राष्ट्रिय मुद्दामा सहकार्यका सम्भावनाबारे छलफल हुने अपेक्षा गरिएको छ।













प्रतिक्रिया दिनुहोस्