मानसिक स्वास्थ्य काउन्सिल गठन गर्न रास्वपाका सांसद खनालको माग

काठमाडौं, ३१ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले देशमा बढ्दो आत्मदाह, डिप्रेसन र मानसिक स्वास्थ्यसम्बन्धी समस्यालाई सम्बोधन गर्न सरकारले तत्काल अधिकारसम्पन्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्नुपर्ने माग गरेका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद खनालले मानसिक स्वास्थ्यको विषयलाई राज्यले उच्च प्राथमिकतामा राख्नुपर्ने बताएका हुन्।

उनले विज्ञान र प्रविधिको विकासले मानिसको भौतिक जीवन सहज बनाए पनि मानसिक स्वास्थ्यका दृष्टिकोणले समाज झन् संवेदनशील बन्दै गएको उल्लेख गरे।

“डिप्रेसन, चिन्ता र आत्मदाहका घटनाले समाजलाई आक्रान्त बनाएको छ। तर हाम्रो मानसिक स्वास्थ्य सेवा अत्यन्तै सीमित, असमान र राजधानी केन्द्रित मात्रै छ। यसले गर्दा राज्यले चाहेर पनि नागरिकलाई प्रभावकारी सेवा दिन सकिरहेको छैन,” उनले भने।

मानसिक स्वास्थ्यलाई केवल औषधि र उपचारसँग मात्र जोडेर हेर्न नहुने भन्दै सांसद खनालले यो जैविक, मनोवैज्ञानिक र सामाजिक पक्षको सन्तुलनसँग सम्बन्धित विषय भएकाले समग्र रूपमा बुझ्न आवश्यक रहेको बताए।

उनले वर्तमान चुनौतीलाई प्रभावकारी रूपमा सम्बोधन गर्न पुरानो मानसिक स्वास्थ्य नीतिमा परिमार्जन गरी समयानुकूल नयाँ मानसिक स्वास्थ्य नीति तर्जुमा गर्न पनि सरकारसँग आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्