प्रधानमन्त्री संसदमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिनुपर्छ : सांसद गीता गुरुङ

काठमाडौं, ३१ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद गीता गुरुङले प्रधानमन्त्री संसदमा नियमित रूपमा उपस्थित भई सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्ने भन्दै सभामुखमार्फत रुलिङको माग गरेकी छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गुरुङले प्रधानमन्त्रीको बेला–बेलामा ‘सरप्राइज’ शैलीमा संसदमा उपस्थित हुने कार्यशैलीप्रति असन्तुष्टि जनाइन्। उनले संसद बैठक कुनै ‘बर्थडे पार्टी’ नभएकाले सरप्राइज शैली स्वीकार्य नहुने बताइन्।

“राज्य सञ्चालन कुनै बर्थडे पार्टीजस्तो होइन। हामी सबै जनताको मतबाट निर्वाचित भएर यहाँ आएका हौँ। लोकतन्त्रमा संविधानवाद र कानुनको शासनको विशेष महत्त्व हुन्छ। कानुनको शासनको आधार पूर्वानुमानयोग्यता (प्रेडिक्टिबिलिटी) हो, तर सरप्राइज शैली त्यसको विपरीत छ,” उनले भनिन्।

प्रधानमन्त्रीको यस्तो कार्यशैलीले लोकतान्त्रिक व्यवस्था र कानुनको शासनप्रतिको प्रतिबद्धतामाथि प्रश्न उठाएको उनको भनाइ थियो।

सांसद गुरुङले सरकारले विभिन्न संवेदनशील विषयबाट जनध्यान मोड्न ‘विषयान्तर’ गर्ने प्रवृत्ति अपनाएको आरोप पनि लगाइन्। मन्त्रीहरूको सम्पत्तिमाथि प्रश्न उठ्दा सुकुम्बासी बस्तीमा डोजर चलाइएको, तत्कालीन सचिव कृष्णहरि पुष्कर पक्राउ पर्दा प्रधानमन्त्री र मन्त्रीहरूको सामाजिक सञ्जाल गतिविधि चर्चामा आएको, कीर्तिपुरस्थित सुकुम्बासी बस्ती डुबानमा पर्दा सरकार प्रभावकारी रूपमा नदेखिएको तथा हालै भएका आत्मदाहका घटनाकै बीच अन्य विषयलाई प्राथमिकता दिइएको भन्दै उनले सरकारको कार्यशैलीमाथि प्रश्न उठाइन्।

उनले यी घटनाहरूले सरकार संवेदनशील विषयबाट जनध्यान अन्यत्र मोड्न माहिर रहेको देखाएको दाबी गरिन्।

प्रतिक्रिया दिनुहोस्