सरकारका निर्णय : नेपाल वायुसेवा निगममा कार्यकारी अध्यक्ष नियुक्त, बीउ बिजन नियमावली संशोधन स्वीकृत
काठमाडौं, ३० असार । सरकारले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का सञ्चालक समिति अध्यक्ष महेश्वरभक्त श्रेष्ठलाई कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ।
मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई महाप्रबन्धकको जिम्मेवारी समेत सम्हाल्ने गरी कार्यकारी अध्यक्षमा नियुक्त गरेको सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए।
बैठकले बीउ बिजन पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय पनि गरेको छ।
यस्तै, सरकारले सशस्त्र प्रहरी बल नेपालका विपद् खोज तथा उद्धार कार्यमा खटिने कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको मन्त्री पोखरेलले बताए।
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।
त्यसैगरी, अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धमा नेपाल सरकारको निर्णयबमोजिम विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन गृह मन्त्रालयले तत्काल कार्यान्वयन गर्ने निर्णय भएको सरकारका प्रवक्ताले जानकारी दिए।













प्रतिक्रिया दिनुहोस्