सरकार नागरिकका आवाज दबाउने दिशामा अघि बढ्यो : कांग्रेस सचेतक निस्कल राई
काठमाडौं, ३० असार । नेपाली कांग्रेसका सचेतक निस्कल राईले वर्तमान सरकारले नागरिकका आवाज दबाउने र निरंकुश शैली अपनाउने दिशामा अघि बढेको आरोप लगाएका छन्।
मंगलबार संसद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राईले सरकारले लोकतान्त्रिक मूल्य–मान्यताविपरीतका गतिविधि गरिरहेको दाबी गरे।
उनले अघिल्लो सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने र प्रश्न गर्न नदिने प्रवृत्तिको विरोध गर्दै अहिलेको सरकार बनेको स्मरण गराउँदै अहिले भने सरकार स्वयं त्यही बाटोमा अघि बढेको आरोप लगाए।
“तर अहिले यही सरकार आफैँ निरंकुश बन्ने बाटोमा अग्रसर छ, जुन लोकतन्त्रका लागि ठूलो प्रश्नचिह्न हो,” उनले भने।
राईले सरकारले नागरिक र विपन्न वर्गका समस्या समाधानमा केन्द्रित हुनुपर्नेमा आफ्ना कमजोरी ढाकछोप गर्नतर्फ लागेको टिप्पणी गरे। सरकारका यस्ता कदमविरुद्ध कांग्रेसले संसद्भित्र र बाहिर निरन्तर आवाज उठाइरहने उनले बताए।
“हामी संसद्भित्र र बाहिर सधैँ प्रश्न गर्छौँ। सरकारलाई थप जिम्मेवार बनाउन हामी आवाज उठाइरहन्छौँ,” उनले भने।
सरकारका गल्ती र कमजोरीविरुद्ध नागरिक अगुवा तथा सञ्चारमाध्यमसँग समन्वय गरेर अघि बढ्ने पनि उनको भनाइ थियो।
प्रधानमन्त्रीको संसद् उपस्थितिबारे पनि असन्तुष्टि जनाउँदै राईले संसदीय अभ्यासअनुसार प्रधानमन्त्री सदनमा उपस्थित हुने जानकारी प्रमुख प्रतिपक्षी दललाई पूर्वसूचना दिनुपर्ने परम्परा पालना नभएको बताए।
“प्रधानमन्त्री संसद्मा आउँदा प्रमुख प्रतिपक्षी दलको नेताको उपस्थिति खोजिन्छ। तर आज प्रधानमन्त्री कति मिनेट र कति सेकेन्ड संसद्मा आउनुभयो भन्ने विषय नै समाचार बनेको छ,” उनले टिप्पणी गरे।
राईले सरकारले गम्भीर राष्ट्रिय मुद्दाबाट जनध्यान मोड्न खोजेको आरोप पनि लगाए। हलिउड चलचित्र ‘वाग द डग’ को उदाहरण दिँदै उनले सरकारले मूल समस्यालाई ओझेलमा पारेर अन्य विषयलाई प्राथमिकता दिइरहेको दाबी गरे।
उनले पार्किङ विवाद, कीर्तिपुर र सुकुम्बासी बस्तीमा भएको घटनाका साथै गणेश नेपालीको आत्मदाहजस्ता विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने र नागरिकका समस्या समाधानमा गम्भीर बन्नुपर्ने माग गरे।













प्रतिक्रिया दिनुहोस्