मिडिया हाउस र नेताका घरअगाडि सवारी पार्किङ गरी अवरोध गर्ने जोसुकैलाई कारबाही हुन्छ : रवि लामिछाने

काठमाडौं, ३० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मिडिया हाउस र नेताका घरअगाडिको सडकमा निजी सवारी साधन पार्किङ गरी अवरोध सिर्जना गर्ने जोसुकैलाई पनि कारबाही हुने बताएका छन्।

सिंहदरबारमा मंगलबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो गतिविधिलाई अस्वाभाविक प्रवृत्ति भएको टिप्पणी गरे। घटनाबारे पार्टीले यसअघि नै विज्ञप्ति जारी गरिसकेको उल्लेख गर्दै उनले निष्पक्ष छानबिन र आवश्यक कारबाही हुनुपर्ने बताए।

सोमबार कान्तिपुर, अनलाइनखबरलगायत सञ्चारमाध्यमका कार्यालयअघि तथा नेपाली कांग्रेसका सभापति गगन थापाको घर जाने सडकमा निजी नम्बर प्लेटका सवारी साधन पार्किङ गरिएको भेटिएको थियो। प्रहरीले ती सवारी हटाउनुका साथै केही सवारीधनीलाई जरिवाना समेत गरेको थियो।

यस घटनामा रास्वपाका नेता वा कार्यकर्ता संलग्न भए कारबाही हुन्छ कि हुँदैन भन्ने सञ्चारकर्मीको प्रश्नमा लामिछानेले स्पष्ट जवाफ दिए।

“किन हुँदैन? त्यस्तो पनि प्रश्न हो र? रास्वपाका नेता, कार्यकर्ता जो भए पनि कारबाही हुन्छ। रास्वपा त्यस्तो पार्टी हो, जसले ७२ घण्टाभित्र आफ्नै सांसदलाई पनि कारबाही गरेको थियो,” उनले भने।

लामिछानेले घटनाको निष्पक्ष अनुसन्धान गरी कानुनअनुसार दोषीमाथि कारबाही गरिनुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्