बागमतीमा समस्याग्रस्त सहकारीविरुद्ध १ साउनदेखि अनलाइन उजुरी, बचत फिर्ता प्रक्रिया थप व्यवस्थित हुने

काठमाडौं, ३० असार । बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता प्रक्रियालाई थप व्यवस्थित बनाउन आगामी १ साउनदेखि अनलाइनमार्फत उजुरी दर्ता गर्ने व्यवस्था लागू गर्ने भएको छ।

मंगलबार आयोजित बचत रकम फिर्ता शुभारम्भ कार्यक्रममा बोल्दै बागमती प्रदेशकी सहकारी तथा गरिबी निवारणमन्त्री विनु रायमाझी पौडेलले अनलाइन प्रणालीमार्फत प्राप्त उजुरीको छानबिन गरी बचत फिर्ता प्रक्रिया अघि बढाइने जानकारी दिइन्।

उनका अनुसार सहकारी बचत फिर्ताको कार्यक्रमलाई प्रदेश सरकारले निरन्तरता दिनेछ र समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने अभियानलाई व्यवस्थित रूपमा सञ्चालन गरिनेछ।

“सहकारी बचत फिर्तालाई प्रदेश सरकारले निरन्तरता दिएर अगाडि बढ्नेछ। त्यसकारण सबै सहकारी पीडित नागरिकलाई धैर्य भएर बसिदिन अनुरोध गर्न चाहन्छौँ,” मन्त्री पौडेलले भनिन्।

उनले थपिन्, “अब हामीले समस्याग्रस्त सहकारीविरुद्ध अनलाइनमार्फत नै उजुरी दिने व्यवस्था गर्दैछौँ। उजुरीका आधारमा छानबिन गरी बचतकर्ताको रकम फिर्ता प्रक्रिया अघि बढाइनेछ।”

प्रदेश सरकारले डिजिटल प्रणालीमार्फत उजुरी व्यवस्थापन गर्दा बचत फिर्ता प्रक्रिया थप पारदर्शी, व्यवस्थित र प्रभावकारी हुने अपेक्षा गरेको छ।

प्रतिक्रिया दिनुहोस्