रास्वपा सांसद कार्कीको कटाक्ष : ‘संसदमा लेखेर ल्याएका कुरा पढ्ने होइन, मर्यादा कायम गर्नुपर्छ’
काठमाडौं, ३० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश कार्कीले संसदमा उठाइने विषयहरू तथ्य, तर्क र गम्भीरतामा आधारित हुनुपर्ने बताएका छन्। उनले विपक्षी दलका सांसदहरूले राजनीतिक उद्देश्यका लागि कतिपय विषयलाई तोडमोड गरेर उठाउने गरेको आरोप लगाए।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद कार्कीले नेपाली कांग्रेसका वरिष्ठ नेता कृष्णप्रसाद भट्टराई सभामुख हुँदाको प्रसंग सुनाउँदै विपक्षी सांसदहरूमाथि व्यंग्य गरे।
“२०१६ सालमा नेपालको संसदमा कृष्णप्रसाद भट्टराई सभामुख हुँदा भन्नुभएको रहेछ– सदनमा लेखेर ल्याएका कुराहरू म पढ्न दिन्नँ। संसदको मर्यादा त्यसरी पनि कायम हुन्छ,” उनले भने।
उनको भनाइ केही दिनअघि नेपाली कांग्रेसका प्रमुख सचेतक बासना थापा र सांसद सीता थपलियाले संसदमा प्रस्तुत गरेको लिखित भाषण हुबहु मिलेको विषयतर्फ लक्षित थियो। दुवै सांसदले लिखित भाषण पढेको विषयमा सार्वजनिक चर्चा भएको थियो।
कार्कीले संसद जनताको आशा र आवाज व्यक्त गर्ने थलो भएको भन्दै यहाँ उठाइने विषयहरू सत्य र तथ्यमा आधारित हुनुपर्ने बताए।
“संसद भनेको जनताको आशा पोख्ने ठाउँ हो। पुराना पुस्ताको सम्मान गर्ने, अहिलेका पुस्ताको सुख–खुसी बढाउने र आगामी पुस्ताका लागि सम्भावना कायम राख्ने ठाउँ हो,” उनले भने।
उनले मिथ्या तथ्यांक, तोडमोड गरिएका तर्क र अभिनयले संसदलाई लोकतन्त्रको मूल भावनाभन्दा फरक दिशातर्फ लैजाने दाबी गरे।
सांसद कार्कीले प्रधानमन्त्रीले केही समयअघि नेपालले पनि भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति दिएपछि उठेको विवादबारे पनि धारणा राखे। उनले सुस्ताको सीमा सुरक्षाका क्रममा गोली लागेका मुन्ना खानको प्रसंग उल्लेख गर्दै वास्तविक तथ्यलाई बेवास्ता गर्न नहुने बताए।
“२०४० सालमा मुन्ना खानले सुस्ताको सीमा जोगाउन ६ वटा गोली खाएका छन्। हामीले मिथ्यांक भन्दै गर्दा शरीरमा गोलीको दाग बोकेर बसेकाहरूको अपमान गरिरहेका त छैनौँ?” उनले प्रश्न गरे।
आत्मदाह र आत्महत्याका घटनालाई लिएर पनि उनले विपक्षीमाथि प्रश्न उठाए। गणेश नेपालीको आत्मदाहको विषयलाई राजनीतिक रूपमा प्रयोग गरिएको आरोप लगाउँदै उनले आत्महत्याका अन्य घटनालाई पनि समान रूपमा हेर्नुपर्ने बताए।
“बितेका तीन दिनमा तीन जनाले आत्मदाह गरे भनियो। तर नेपालको तथ्यांक हेर्ने हो भने त्यही अवधिमा धेरै जनाले आत्महत्या गरेका छन्। केही व्यक्तिको घटनालाई मात्र उठाएर राजनीतिक अभिष्ट पूरा गर्ने प्रयास हुनुहुँदैन,” उनले भने।
उनले गरिबी मात्र आत्महत्याको एकमात्र कारण नभएको भन्दै यसको सामाजिक, मानसिक र अन्य पक्षबारे पनि गम्भीर अध्ययन आवश्यक रहेको बताए।
सांसद कार्कीले संसदमा उठाइने विषयहरू गम्भीर, तर्कसंगत, तथ्यपरक र सैद्धान्तिक हुनुपर्नेमा जोड दिए।













प्रतिक्रिया दिनुहोस्