काठमाडौंमा ८ सय ग्रामलाई १ किलो भन्दै सामान बिक्री भइरहेको सांसद धामीको दाबी
काठमाडौं, ३० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जनकसिंह धामीले काठमाडौं उपत्यकामा ८ सय ग्राम सामानलाई १ किलो भन्दै बिक्री वितरण भइरहेको दाबी गरेका छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद धामीले काठमाडौंसहित विभिन्न सहरमा १५० भन्दा बढी प्रकारका सामानको मूल्य, गुणस्तर र तुलनात्मक अवस्था अध्ययन गर्दा यस्तो अवस्था भेटिएको बताएका हुन्।
“सामानको प्रचार गरिएजस्तो गुणस्तर नभएको पाएँ। यो कुरा अनलाइन व्यापारमा बढी देखियो। एक हजार ग्रामको एक किलो हुने भए पनि काठमाडौं उपत्यकाभित्र कतै कतै ८ सय ग्रामलाई नै एक किलो बनाएर सामान बिक्री वितरण भइरहेको पाएँ,” उनले भने।
उनले बजारमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्ताबाट बढी रकम असुल्ने प्रवृत्ति बढेको भन्दै सरकारको ध्यानाकर्षण गराए।
“स्तरीय खाजा घरको नाममा चर्को मूल्य असुलेको पाइयो। समतामूलक सामाजिक संस्कार र चलन कतै भेटिएन,” सांसद धामीले भने।
उनले अव्यवस्थित बजार प्रणालीका कारण समाजका विभिन्न वर्ग र तहका नागरिक प्रभावित भइरहेको भन्दै उपभोक्ताको हकहित संरक्षणमा राज्य कहाँ चुकेको हो भन्ने प्रश्न गरे।
सम्बन्धित निकायलाई बजार अनुगमन प्रभावकारी बनाउन र देखिने गरी समस्या समाधानतर्फ अघि बढ्न उनले सभामुखमार्फत सरकारसँग आग्रह गरे।













प्रतिक्रिया दिनुहोस्