सांसद रिमा विश्वकर्माले सरकारलाई सुनाइन् ‘ट्रक साहित्य’, दलित मुद्दा उठाउँदा माइक काटियो

काठमाडौं, २९ असार ।  राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रिमा विश्वकर्माले प्रतिनिधिसभाको बैठकमा सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै ‘ट्रक साहित्य’ सुनाएकी छन्।

मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले गणेश नेपाली, विवेक मण्डल र अस्विन रावलप्रति श्रद्धाञ्जली अर्पण गर्दै आफ्नो भनाइ सुरु गरेकी थिइन्। देशभर बढिरहेका आत्मदाहका घटनाले मानसिक स्वास्थ्यसँगै राज्यको जिम्मेवारीमाथि गम्भीर प्रश्न उठाएको उनको भनाइ थियो।

उनले सरकारलाई नीति सुधारको क्रममा हतार गरिरहेको त छैन भन्दै प्रश्न गरिन्।

“जसका लागि कानुन बनाउँदै छौँ, कतै उनीहरू नै त्यसको मारमा त परिरहेका छैनन्? के साँच्चै नागरिकले आफ्ना पीडा सुनाउन र न्याय पाउन यस्तो आत्मघाती कदम चाल्नुपर्ने अवस्था आएको हो?” उनले प्रश्न गरिन्।

त्यसपछि उनले सरकारलाई लक्षित गर्दै भनिन्, “एक्सप्रेस वेमा तीव्र गतिमा अघि बढेको सरकारलाई म एउटा ट्रक साहित्य सुनाउन चाहन्छु– हतार गरे भन्न सकिन्न, विस्तारै गए अवश्य पुगिन्छ।”

उनले सुशासनसँगै नागरिकको मानसिक स्वास्थ्यलाई पनि सरकारको प्राथमिक एजेन्डामा राख्नुपर्ने बताइन्। राजनीतिक दायित्वसँगै सामाजिक र नैतिक जिम्मेवारीलाई पनि गम्भीर रूपमा लिनुपर्ने उनको भनाइ थियो।

विश्वकर्माले दलित समुदायप्रति राज्यको व्यवहार र उनीहरूले भोगिरहेका समस्याबारे बोल्ने क्रममा भने माइक काटिएको थियो। उनको भनाइ पूरा हुन नपाउँदै समय सकिएको भन्दै सभामुखले बैठक अघि बढाएका थिए।

प्रतिक्रिया दिनुहोस्