राष्ट्र संकटमा रहेको भन्दै सबै दललाई एकजुट हुन सांसद अमरेशकुमार सिंहको आग्रह
काठमाडौं, ३० असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले देश संकटको अवस्थामा रहेको भन्दै सबै राजनीतिक दल मिलेर राष्ट्रिय मुद्दा तय गर्नुपर्ने बताएका छन्।
आज बसेको संसद बैठकमा बोल्दै सिंहले जनतामा बढ्दो निराशा, युवाको असन्तुष्टि र मुलुकका विभिन्न क्षेत्रमा देखिएको संकट समाधान गर्न दलहरूबीच सहकार्य आवश्यक रहेको बताए।
‘आज देशमाथि संकट छ, जनतामाथि संकट छ। व्यवसायी, नागरिक, युवादेखि विद्यार्थीसम्म निराशा छ। यसलाई नबढाऔँ, यसको समाधान खोजौँ,’ उनले भने।
उनले सभामुखमार्फत संसदमा रहेका सबै दललाई एक ठाउँमा ल्याएर राष्ट्रिय मुद्दा तय गर्न आग्रह गरे। देश निर्माणको जिम्मेवारी सबै दलको साझा दायित्व भएको उनको भनाइ थियो।
सिंहले पछिल्लो समय युवाहरूले आत्मदाह गर्ने घटनाले आफूलाई गम्भीर बनाएको उल्लेख गर्दै सर्लाही–४ का युवा विवेक मण्डलसहित आत्मदाह गरेका युवाप्रति श्रद्धाञ्जली व्यक्त गरे। उनले शोकसन्तप्त परिवारप्रति समवेदना पनि प्रकट गरे।
दुई साताको अवधिमा तीन जना युवाले आत्मदाह गरेको उल्लेख गर्दै उनले यस्ता घटनाले राज्य र राजनीतिक नेतृत्वलाई गम्भीर आत्मसमीक्षा गर्नुपर्ने अवस्था आएको बताए।
विवेक मण्डलको घटनामा प्रधानमन्त्री बालेन्द्र शाह र उनको सचिवालय, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तथा स्वास्थ्य मन्त्री निशा मेहताले चासो र सहयोग गरेको भन्दै सिंहले धन्यवाद व्यक्त गरे।
अनुभवी सांसदको हैसियतले आफूले देशको अवस्थाबारे ध्यानाकर्षण गराउन चाहेको बताउँदै सिंहले सत्ता र प्रतिपक्ष स्थायी नभएको तर लोकतन्त्र र जनता स्थायी आधार भएको धारणा राखे।
‘राज्य रह्यो भने, लोकतन्त्र रह्यो भने र जनता रहे भने फेरि हामी राजनीति गरौँला। कोही सत्तापक्षबाट लडौँला, कोही प्रतिपक्षबाट। तर जनता र लोकतन्त्र समाप्त भयो भने हामी कहीँका रहँदैनौँ,’ उनले भने।
सिंहले राजनीतिक दलहरूबीच आरोप–प्रत्यारोपभन्दा माथि उठेर मुलुकका साझा समस्याको समाधान खोज्नुपर्नेमा जोड दिए।













प्रतिक्रिया दिनुहोस्