काठमाडौंमा महँगो घरभाडाबारे सांसद रमेश प्रसाईंको प्रश्न, वैज्ञानिक मापदण्ड बनाउन सरकारलाई आग्रह

काठमाडौं, ३० असार । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईंले काठमाडौं उपत्यकामा बढ्दो घरभाडाप्रति संसद्मा सरकारको ध्यानाकर्षण गराएका छन्। उनले घरभाडा निर्धारणमा स्पष्ट मापदण्ड नभएको भन्दै वैज्ञानिक प्रणाली लागू गर्न माग गरेका छन्।

सांसद प्रसाईंले संसद्मा बोल्दै साना कोठाको भाडासमेत अत्यधिक महँगो भएको उल्लेख गरे। “हामी जस्ताले भाडा तिरेरै हजारौं घरबेटीको घर चलेको छ। तर सानो कोठाको भाडा आठ हजार, नौ हजार, दस हजार कुन मापदण्डमा टेकेर कसरी निर्धारण गरिन्छ?” उनले प्रश्न गरे।

उनले हाल घरभाडा निर्धारण मुख्यतः घरधनीको इच्छामा निर्भर रहेको दाबी गर्दै सरकारले स्पष्ट मापदण्ड बनाउनुपर्ने बताए। भएका नियमसमेत प्रभावकारी रूपमा कार्यान्वयन नभएको उनको भनाइ थियो।

प्रसाईंले घरभाडाको समस्या सामान्य विषय नभई दूरदराजबाट काठमाडौं आएर अध्ययन गर्ने विद्यार्थी, दैनिक ज्यालादारी गर्ने मजदुर तथा निम्न आय भएका नागरिकसँग प्रत्यक्ष जोडिएको विषय भएको बताए।

उनले सरकारले बहाल कर उठाउने काम गरे पनि घरभाडा निर्धारणका लागि वैज्ञानिक आधार तय गर्न पहल नगरेको आरोप लगाए। घरभाडालाई व्यवस्थित र न्यायसंगत बनाउन सरकारले तत्काल कदम चाल्नुपर्ने उनको माग छ।

प्रतिक्रिया दिनुहोस्