प्रधानमन्त्रीको विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सांसद राईको माग
काठमाडौं, ३० असार । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्रीले दिएको विवादित अभिव्यक्ति प्रतिनिधिसभाको रेकर्डबाट हटाउन माग गरेका छन्। लामो समय बितिसक्दा पनि आफ्नो माग सम्बोधन नभएको भन्दै उनले सरकारको आलोचना गरेका हुन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले आफूले प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन माग गरेको धेरै समय बितिसक्दा पनि कुनै प्रतिक्रिया नआएको बताए।
उनले काठमाडौं महानगरपालिकाको प्रमुख रहेका बेला प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिको प्रसंग उठाउँदै त्यसलाई गम्भीर रूपमा लिनुपर्ने धारणा राखे। उक्त अभिव्यक्ति नियतवश नभई गल्तीवश आएको भए प्रधानमन्त्रीले संसद्मा आएर फिर्ता लिनुपर्ने उनको माग थियो।
सांसद राईले सरकारले गरिब, श्रमिक र विपन्न वर्गको हितमा काम गर्ने प्रतिबद्धता जनाए पनि व्यवहारमा त्यसअनुसार काम गर्न नसकेको आरोप लगाए।
उनले पठाओ चालक, सुकुम्बासी, श्रमिक तथा साना उद्यमीमाथि सरकारले अनावश्यक दबाब सिर्जना गरिरहेको दाबी गर्दै यस्ता गतिविधि रोक्न सरकारसँग आग्रह गरे।
त्यस्तै, लामो समयदेखि करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीलाई ठेकेदारमार्फत व्यवस्थापन गर्ने प्रयास भइरहेको आरोप लगाउँदै उनले यसप्रति सरकारको ध्यानाकर्षण गराए।
राईले सर्वोच्च अदालतको आदेशअनुसार लामो समयदेखि सरकारी सेवामा रहेका करार तथा ज्यालादारी कर्मचारीलाई महँगी भत्ता, सामाजिक सुरक्षा कोषलगायतका सुविधा उपलब्ध गराउन सरकारसँग माग गरे।
‘सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै करार तथा ज्यालादारी कर्मचारीको सेवा–सुविधा सुनिश्चित गरियोस्,’ उनले सरकारसँग आग्रह गरे।













प्रतिक्रिया दिनुहोस्